नयाँ स्टक एक्सचेन्जको लाईसेन्सका लागि पुनः आवेदन माग, १० दिनभित्र आवेदन दिनुपर्ने

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लागि आवेदन माग गरेको छ । नेपाल धितोपत्र बोर्डले एक स्टक एक्सचेञ्ज र दुई कमोडिटी एक्सचेञ्जको लाइसेन्स वितरणका लागि आज निवेदन माग गरेको हो ।

बोर्डले यसअघि स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स वितरणका लागि आवेदन माग गर्दा बाँकी रहेको १० दिन अवधिभित्र आवेदन पेश गर्न आग्रह गरेको छ ।

कात्तिक १५ गतेदेखि स्थगित भएको नयाँ लाइसेन्स वितरण प्रक्रिया अघि बढेको छ ।

यसअघि बोर्डले नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जसहित ब्रोकर लाइसेन्स वितरणका लागि गत असोज २ गते आवेदन माग गरेको थियो । ब्रोकर लाइसेन्सका लागि ३० दिनको अवधि तोकेको थियो भने स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जका लागि ४५ दिनको अवधि तोकेको थियो ।

नयाँ लाइसेन्स वितरणविरुद्ध सर्वोच्च अदालतमा दुई ओटा रिट परेसँगै अदालतकै आदेशमा बोर्डले कात्तिक १५ गते यथास्थितिमै नयाँ लाइसेन्स वितरण प्रक्रिया स्थगित गरेको थियो । बोर्डले वितरण गर्न लागेको लाइसेन्स वितरणविरुद्ध परेको दुवै रिट खारेज भएसँगै प्रक्रिया अघि बढाइएको हो । सर्वोच्चले नयाँ लाइसेन्स वितरणविरुद्ध परेको एक रिट पुस १३ गते र अर्को रिट चैत २६ गते खारेज गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *