बुधबार सेयर बजारमा उछाल आएको छ । आज सेयर बजार ४.९३ प्रतिशतको बढेको छ । सुखद समाचार आएसँगै लगानीकर्ताहरु उत्साहित भएका हुन् ।
बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेसँगै सेयर बजारमा कारण उछाल आएको हो । यसको अलावा अर्थतन्त्र सुधारउन्मुख भएको समाचारले पनि लगानीकर्ताको मनोबल बढाएको छ ।
यो दिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक ९२.२२ अंकले बढेको छ । बुधबार बजार बढेर १९६३.५५ को बिन्दुमा रोकियो।
आज कारोबार रकम समेत बढेर करिब २ अर्ब बराबरको सेयर किनबेच भयो । यस दिन २६७ कम्पनीको ६१ लाख ७ हजार ४२५ कित्ता सेयर एक अर्ब ९७ करोड ६० लाख ७६ रुपैयाँमा किनबेच भएको छ ।
यो दिन वाणिज्य बैंक, फाइनान्स र माइक्रोफाइनान्स समूहको सूचक सर्वाधिक बढ्यो । बैंकिङ समूह ५.४६ प्रतिशतले बढेको यो दिन विकास बैंक समूहमा ५.७४, फाइनान्स समूहमा ६.८४, माइक्रोफाइनान्स समूहमा ५.११ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।
उत्पादन तथा प्रशोधन समूह ४.९५ प्रतिशत, जलविद्युत समूहमा ४.९१ प्रतिशत, लगानी समूहमा ४.२५, जीवन बीमा समूहमा ४.७७, निर्जीवन बीमा समूहमा ४.७६, होटल र टुरिजममा ३.६७ प्रतिशतले बढ्न सफल भएको छ । यो दिन म्युचुअल फण्ड समूह २.८७ प्रतिशतले बढेको छ ।
आज कारोबारमा आएका २१८ वटै कम्पनीको सेयरमूल्य बढ्यो । गुमाउने कोही पनि भएनन् ।
कारोबारमा आएका कम्पनीमध्ये ७ वटाको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । सिद्धार्थ इक्वीटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड १, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, आदर्श लघुवित्त, खप्तड लघुवित्त, कालिञ्चोक दर्शन लिमीटेड र गणपति लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
यो दिन बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टले ११ करोड ७३ लाख बढीको कारोबार गर्यो । त्यसैगरी, एनआइसी एशियाको ६ करोड २९ लाख बढीको सेयर किनबेच भएको बजारमा हिमालयन डिस्टीलरीको ६ करोड ३ लाख, नवील बैंकको ५ करोड ३३ लाख र अपी पावर कम्पनीको ४ करोड ८ लाख बढीको सेयर किनबेच भयो ।







