मुलुकको शोधनान्तर स्थिति १४८ अर्ब रुपैयाँले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुनसम्मको अर्थतन्त्रको अवस्थाबारेको तथ्यांकअनुसार शोधनान्तर स्थिति १४८ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति२५८ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १२ करोडले बचतमा रहेको छ ।
यस अवधिमा व्यापारघाटामा पनि सुधार भएको छ।
समीक्षा अवधिमा चालु खाता भने ४४ अर्ब ३१ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४६० अर्ब ७२ करोड रुपैयाँले घाटामा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म पुँजीगत ट्रान्सफर २०.३ प्रतिशतले कमी आई ५ अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ । यस अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १७ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।







