एसियन लाइफ इन्स्योरेन्सले बोलायो वार्षिक साधारणसभा, के-के छन् एजेन्डा ?

 

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बिहीबार (चैत २३ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा बाराको सिमरास्थित होटेल क्लासिकमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार ७५ रुपैयाँको कुल ८.५ प्रतिशतले हुन आउने २४ करोड ७१ लाख ८९ हजार ४४२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४४७ प्रतिशतले हुन आउने १ करोड ३० लाख ९ हजार ९७० रुपैयाँबराबरको नगद लाभांश अनुमोदन गर्नेछ।

बोनस सेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँलाई वृद्धि गरी ६ अर्ब रुपैयाँ कायम गर्न प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव सभाले स्वीकृत गर्नेछ।

सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो वैशाख ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख ७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *