राष्ट्रिय सहकारी महासम्मेलनको तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु भएको छ । ३ दिनसम्म चल्ने राष्ट्रिय सहकारी सम्मेलन २०२३ को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको बलियो खम्बा भएको बताएका छन् । ‘सहकारी क्षेत्र नेपालको सन्दर्भमा अर्थतन्त्रको बलियो खम्बाको रुपमा विकसित हुँदै आएको छ । हामीले संविधान सभाबाट नयाँ संविधानको घोषणा गर्दै गर्दा नेपालको राजनीतिक र आर्थिक के हुन सक्छ भन्ने बारेमा गहिरो छलफल भएको थियो र हामीले ३ खम्बे नीति निजी, सहकारी र सार्वजनिक क्षेत्रको सहकार्यद्वारा अर्थतन्त्रको विकास हुने कुरा गर्यौं’ उनले भने ।
राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपुर्ण योगदान गर्दै आएको र राज्यले उच्च प्राथमिकतामा राखेको यस क्षेत्रको विकास र विश्वसनीयतामा समेत प्रश्न नउठ्ने गरी काम गर्न समेत उनले आग्रह गरेका छन् । उनले भने ‘ राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपुर्ण योगदान गर्दै आएको र राज्यले उच्च प्राथमिकतामा राखेको यस क्षेत्रको विकास र विश्वसनीयतामा समेत केहि प्रश्नहरु उठिरहेका सन्दर्भमा स्वनियमनलाई नारामा मात्र सीमित नराखी व्यवहारमा उतार्न समेत म यहाँहरुलाई अनुरोध गर्दछु ।’
प्रधानमन्त्रीले सहकारीको ब्याजदर पुनरवलोकन सहकारी मन्त्रालयले गर्न अध्ययन गरिरहेको बताए । “सहकारी क्षेत्रमा धेरै समस्या छन् । एक ब्याजदरको कुरा पनि छ । सहकारीको ब्याजदर पुनरवलोकन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट काम भइरहेको छ,” उनले भने ।
उनले सहकारी क्षेत्रको पुनरुत्थानको लागि सरकारले सधैँ सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।
सहकारीको माध्यमबाट समाजमा निम्न आय भएका वर्गको जीवनस्तर उकास्न र उनीहरुलाई सामाजिक न्यायको फराकिलो प्रणालीभित्र आवद्ध गर्नु सहकारीको मूल ध्येय भएको बताएका छन् ।
त्यसैगरी, उद्घाटन समारोहमा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक संकटका कारण सहकारी क्षेत्र पनि अप्ठ्यारोमा परेको बताएका छन् ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल महासम्मेलनले सहकारी क्षेत्रमा देखिएको चुनौती र समाधानको विषयमा छलफल गरी समाधानको निष्कर्ष निकाल्ने बताएका छन् । उनले प्रतिष्ठित नेतृत्व, दक्ष मानव संसाधन विकासका लागि प्रविधियुक्त नवीनतम उपायका बारेमा पनि महासम्मेलनमा छलफल गरिने बताए ।







