

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । कम्पनीको विशेष साधारणसभा आज (बुधबार) होटल इच्छा, सिमरा, बारामा सम्पन्न भएको हो ।
विशेष साधारणसभामा कम्पनीका अध्यक्ष विशाल अग्रवालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा सभालाई जानकारी गराए ।
सभामा अध्यक्ष अग्रवालले हालको बीमा बजार तथा सोमा नियमन निकायबाट चुक्ता पूँजी सम्बन्धी प्राप्त निर्देशनलाई मध्येनजर गरी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड र आइएमई जनरल इन्स्योरेन्स लिमिटेड गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौता भई सोही बमोजिम आजको विशेष साधारण सभा बोलाइएको जानकारी गराए ।
सभाले प्रुडेन्सियल र आइएमई जनरल इन्स्योरेन्सको गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता पत्र तथा DDA Report समेतको आधारमा सेयर अनुपात (Swap Ratio) क्रमश १:१ कायम गरी दुवै कम्पनी गाभिए पश्चात बन्ने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड बन्ने प्रस्ताव पारित गरेको छ ।
मर्जरपछि कम्पनीको चुक्ता पूँजी ३ अरब २ करोड ९३ लाख ३४ हजार ६ सय ३९ रुपैयाँ पुग्नेछ ।
सोही अवसरमा कम्पनीहरु गाभिए पश्चात बन्ने कम्पनीको अधिकृत पूँजी ५ अर्ब र चुक्ता पूँजी ३ अर्ब २ करोड, शाखा संजाल ८४, कर्मचारी संख्या ५१७ हुने, त्यसै गरी व्यवसाय करिब ४ अर्ब हुने जानकारी समेत अग्रवालले जानकारी दिए ।
संस्था गाभिएपछि पूँजीगत आधार सुदृढ हुनेछ साथै कम्पनीको वित्तीय अवस्था थप सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बन्ने र निर्जिवन बीमा क्षेत्रको विकास तथा बीमितको हक हित संरक्षणमा संस्था सफल हुनेछ । गाभिए पश्चात प्राविधिक र अन्य क्षमता, अनुभव र विज्ञता भएको मानव संशाधन एकआपसमा मिलेर संस्थालाई थप बल पुग्ने छ भने अनुभव आदान प्रदान भै गुणात्मक उपलब्धि हासिल हुनेछ ।

अर्थ सन्जाल