

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मिटरब्याजी पीडितहरु साहुको ऋणको भारका साथै शारीरिक र मानसिक रुपमा पीडित रहेको भन्दै उनीहरुको पीडालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले पीडितहरुलाई चाँडो न्याय दिलाउन वार्तामार्फत समाधान खोज्न सरकार समक्ष आग्रह गरेका हुन् । सांसद जयन्तीदेवी राईले मिटरब्याजी पीडितको समस्यालाई गम्भीरतापूर्वक लिँदै वार्ता र संवादका माध्यमबाट तत्काल समाधान खोज्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद नन्दा चपाइले जनताको विकास निर्माणको चाहनालाई दलहरुले गम्भीर रुपमा लिनुपर्ने बताइन् । उनले जनचाहना अनुरुप गणतन्त्रको संस्थागत विकास र विसकास र समृद्धिको आभाष दिलाउन नेताहरुले गम्भीरता देखाउनुपर्नेमा जोड दिइन् ।
सांसद डा बिमला राई पौडयालले मिटरब्याजसम्बन्धी तत्काल कानुन संशोधन गरी कानुनी दायरामा ल्याएर पीडितलाई न्याय दिनुपर्नेमा जोड दिइन् । सांसद दुर्गाकुमारी गुरुङले द्वन्द्वपीडितको समस्या समाधान गरी शान्ति प्रक्रियालाई चाँडो टुङ्गोमा पुर्याउन सरकारको ध्यानाकर्षण गराइन् ।

अर्थ सन्जाल