नेपाल राष्ट्र बैंकले सर्वसाधारण ऋणीहरूमा कर्जाको साँवा, ब्याज र सेवा शुल्कको बारेमा राम्रो ज्ञान राख्न आग्रह गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्दा ब्याजसँगै अतिरिक्त सेवा शुल्क समेत लिने गरेको भन्दै यसमा ध्यान दिन सर्वसाधारणलाई सचेत गराएको हो ।
राष्ट्र बैंकले २०७७ साउनदेखि नियमन गरी कर्जा स्वीकृत गर्दा बैंक तथा वित्तीय संस्थाहरुले लिन पाउने सेवा शुल्कको सीमा तोकेको थियो। जसअनुसार कर्जा स्वीकृत गर्दा वाणिज्य बैंकले बढीमा ०.७५ प्रतिशत, विकास बैंकले १ प्रतिशत, फाइनान्स कम्पनीले बढीमा १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाले बढीमा १.५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ। ‘यी बैंक तथा वित्तीय संस्थाले तोकिएको शुल्कबाहेक अन्य कुनै शुल्क लिन पाउँदैनन्’, राष्ट्र बैंकले भनेको छ।
बैंकले भनेको छ, ‘कर्जा उपयोग गर्दा कर्जाको लागि ब्याज मात्र नभई अन्य विभिन्न अवस्थामा विभिन्न शुल्कहरू पनि भुक्तानी गर्नुपर्ने हुन्छ । यस्तो शुल्कको बारेमा कर्जा प्रदान गर्ने संस्थासँग विस्तृतमा छलफल गरी प्रस्ट भएपछि मात्र कर्जा कारोबार गर्नुपर्दछ’ राष्ट्र बैंकले भनेको, ‘ऋणीलाई ब्याजदर तथा शुल्कका बारेमा सरल भाषामा बुझाउनु कर्जा प्रदान गर्ने संस्थाको दायित्व हो ।’





