नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड विपरित लाभांश घोषणा गरेको छ । राष्ट्र बैंकले धमाधम लघुवित्तको लाभांश कटौती गरिरहेको बेला नेष्डो समृद्धले गत आर्थिक वर्षका लागि ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७८\७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको ५० प्रतिशत बोनस सेयर र २३.६८ प्रतिशत नगद लाभांश (कर समेत) गरेर कुल ७३.६८ प्रतिशत लाभांश घोषणा गरेको हो ।
राष्ट्र बैंकले गत फागुनमा लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै लघुवित्त संस्थाले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने व्यवस्था गरेको थियो ।
निर्देशिका अनुसार लघुवित्त संस्थाहरुले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गरेमा बढी लाभांशको ५० प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने व्यवस्था गरेको थियो । यस्तै, राष्ट्र बैंकले सोही अनुसार प्रस्ताव गरे बढी भएको लाभांशको ३५ प्रतिशत रकम ग्राहक संरक्षण कोष मा र १० प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वमा लगानी गर्नुपर्ने व्यवस्था गरेको थियो ।
यदि नेष्डो समृद्ध लघुवित्तले पनि १५ प्रतिशत नगद लाभांश जगेडा कोष लगायतका विभिन्न कोषमा संचित नगरेमा ५० प्रतिशत बोनस शेयर संशोधन भएर १५ प्रतिशतमा झर्न सक्नेछ ।
यसअघि राष्ट्र बैंकले जीवन विकास लघुवित्तको दुईपटकसम्म संशोधन गरेको थियो । जीवन विकास लघुवित्तले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कुल ३७.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३ करोड ४२ लाखभन्दा माथि रहेको छ । सोही पूँजीको आधारमा २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेतका लागि ९.३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको कम्पनीले राष्ट्र बैंकको निर्देशनबमोजिम कुल ३३.१५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
अब कम्पनीले २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ७.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।




