गम्भीर अपराधमा मुछिएको एनआईसी एशिया सीआईबीको निगरानीमा, राष्ट्र बैंक मुकदर्शक

काठमाडौं । पटक–पटक अनेक विवादित प्रकरणमा मुछिँदै आएको एनआईसी एशिया बैंकको अर्को बदमासी सार्वजनिक भएको छ । बैंकमा रहेका ग्राहकको खाताबाट रकम गायव पारेको, २० करोडको ऋणमा डेढ अर्बको जग्गा हत्याउन जालसाजी गरेको, धितो लिलामीमै किर्ते गरेकोदेखि राष्ट्र बैंकको निर्देशन विपरीत कोरोना महामारीमा पनि चर्को ब्याज असुलेको जस्ता विषयमा एनआईसी एशिया विगतमा पटकौं विवादमा तानिएको थियो ।

सोहि एनआईसी एशिया बैंकको अर्को बदमासी सार्वजनिक भएको छ । एनआईसी एशियाको सप्तरी राजविराज शाखाले किर्ते जग्गा र किर्ते जग्गाधनी खडा गरेर करोडौं रुपैयाँ ऋण प्रवाह गरेको पाइएको छ । एनआइसी एशिया बैंक राजविराज शाखाका प्रबन्धक सन्तोषकुमार यादवले किर्ते जग्गाधनी खडा गरी दुई करोड ८० लाख रुपैयाँ ऋण दिएको पाइएको हो । ऋणको रकम निकासा भएसँगै शाखाका प्रबन्धक यादव सम्पर्कविहीन भएपछि दुई हप्ताअघि यो घटना बाहिरिएको हो ।

प्राप्त विवरणअनुसार किर्ते जग्गाधनी राजविराज नगरपालिका–९ की वसिरन खातुनलाई प्रसवनी– ९ (ग) को कित्ता नम्बर २२१ को १० कठ्ठा ५ धुर जग्गाको धनी बनाइएको छ । सो जग्गा राजविराज नगरपालिका– ८ का रवीन्द्रकुमार यादवको नाममा मालपोत कार्यालयमा दर्ता छ ।

शाखाका प्रबन्धक यादव र व्यवसायी मोहम्मद समसाद खानले किर्ते जग्गाधनी प्रमाणपत्र तयार गरेर खातुनलाई जग्गाधनी बनाउनुका साथै एएस ट्रेडर्स एन्ड सप्लायर्सकी सञ्चालक रहेकी खातुनकै बुहारी नाता पर्ने राजविराज नगरपालिका–९ की आसमा खातुनलाई ऋणी बनाएका हुन् ।

प्रबन्धक यादवले स्वीकृत ऋणमध्ये २२ देखि २४ माघसम्ममा दुई करोड ३० लाख रुपैयाँ निकासा दिएका थिए । तर, घटना बाहिरिएलगत्तै प्रबन्धक यादव र व्यवसायी खान सम्पर्कविहीन भएका छन् ।

के भन्छ एनआईसी एशिया ?

नक्कली जग्गाधनी र ऋणी खडा गरेर ऋण प्रवाह गर्ने गम्भीर अपराध गरेको एनआईसी एशियाले भने यसलाई सामान्य रुपमा लिएको छ । एनआईसीका मुख्य सूचना अधिकारी सुधिरनाथ पाण्डेले यसलाई सामान्य रुपमा अथ्र्याउँदै घटनाबारे अध्ययन भइरहेको बताए ।

‘न्यूजतिर आइरहेका विषय नै हो’, अर्थसंजालसँग सूचना अधिकारी पाण्डेले भने, ‘यसबारे के–कसो रहेछ, बुझ्ने काम भइरहेको छ । अहिले सबै कुरा यकिन भइसकेको छैन ।’

सबै विषय स्पष्ट भइसक्दा पनि एनआईसी एशियाले भने के भएको भन्नेबारे नै यकिन नभएको दाबी गरेको छ । ‘हामीले कतै पनि उजुरी दिएका छैनौं’, सूचना अधिकारी पाण्डेले भने, ‘पहिला के भएको हो, त्यो नबुझि त उजुरी गर्ने कुरै भएन । बुझ्ने काम भएपछि सबै हुन्छ ।’

राष्ट्र बैंक बेखबर

एनआईसी एशिया बैंकको यस्तो गम्भीर लापरबाहीबारे नियमनकारी निकाय राष्ट्र बैंक भने बेखबर छ । मुलुकका सबै बैंक तथा वित्तीय संस्थाहरुमा राष्ट्र बैंककै नियन्त्रण रहन्छ भने उसैको निर्देशनअनुसार संचालन हुन्छन् । तर आफू मातहतका संस्था (एनआईसी एशिया बैंक)ले यस्तो गम्भीर अपराध गर्दा पनि राष्ट्र बैंकले आफ्नो दायित्व भुलेर सामान्य जानकारीसमेत राख्दैन ।

राष्ट्र बैंकका सुपरीवेक्षण विभागका निर्देशक देव ढकालले यसबारे आफूलाई कुनै जानकारी नभएको बताए । ‘यसबारे कुनै जानकारी छैन’, अर्थसंजालसँग उनले भने ।

निर्देशक ढकालको जवाफमा चित्त बुझाउन नसकेपछि हामीले राष्ट्र बैंकका प्रवक्ता गणाकर भट्टलाई फोन गर्ने प्रयास गर्‍यौं तर उनको फोन ‘स्वीच अफ’ भनेपछि पुनः सहायक प्रवक्ता एवं सूचना अधिकारी नारायणप्रसाद पोखरेलसँग कुरा गर्‍यौं । तर उनले पनि एनआईसी एशियाको यो लापरबाहीबारे खुलेर बोल्न चाहेनन् । यद्यपि उनले यसबारे आँफू जानकार रहेको खुलाए ।

‘मैले अहिले यो बताउने हैसियत राख्दिन । यसबारे सम्बधित विभागले हेरिरहेको छ’,  अर्थसंजालसँग उनले भने, ‘बरु तपाईंसँग थप केही कुरा छन् भने मेल गर्दिनुस्, म त्यहाँ कुरा गरौंला ।’

के गर्दैछ प्रहरी ?
घटना सार्वजनिक भएसँगै आन्तरिक रुपमा अनुसन्धान गरिरहेको प्रहरीले सम्बन्धित पक्षबाट खुला अनुसन्धानका लागि उजुरी कुरिरहेको छ । सप्तरीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कार्कीका अनुसार प्रहरीले अहिले आफ्नो तरिकाले अनुसन्धान गरिरहेको भएपनि खुला अनुसन्धानका लागि प्रहरीलाई कुनै जानकारी वा उजुरी परेको छैन ।

‘छानविनका लागि अहिलेसम्म हामीलाई लिखित तथा आधिकारिक रुपमा केही उजुरी प्राप्त भएको छैन’, उनले  अर्थसंजालसँग भने, ‘तर पनि हामीले यसमा आफूले गर्नुपर्ने आन्तरिक अनुसन्धानहरु त गरिरहेकै छौं । यसमा सम्बन्धित पक्ष को–को हुन् ? दोषी र पीडित को हुन् भन्नेबारे हामी अनुसन्धानमै छौं ।’

प्रहरीका अनुसार वास्तविक जग्गाधनी राजविराज नगरपालिका–८ का रवीन्द्रकुमार यादवले पनि कुनै उजुरी गरेका छैनन् । उनले अर्कै बैंकमा सोही जग्गा धितो राखेका छन् । जग्गाधनी यादवको उक्त जग्गा मालपोतमा रोक्का नै रहेको र उनकै नाममा रहेको एसपी कार्कीले बताए । ‘हामीले केही दिनअघि वास्तविक जग्गाधनीलाई नै भेटेर बुझेका थियौं’, उनले भने, ‘मालपोतमा गएर बुझ्दा जग्गा उहाँकै नाममा रोक्का नै छ । उहाँलाई यसमा कुनै सरोकार नै भएन । किन दिनुहुन्थ्यो र उहाँले त उजुरी !’

एसपी कार्कीका अनुसार घटना बाहिरिए लगत्तै सम्पर्कविहीन भएका प्रबन्धक सन्तोषकुमार यादव भने अझै सम्पर्कमा आएका छैनन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि यस घटनालाई निगरानीमा राखेको छ । जसअनुसार जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको सीआईबी प्रमुख उत्तमराज सुवेदीले बताए । ‘घट्ना बाहिरिएपछि हामीले पनि यसलाई निगरानीमा राखेका छौँ’, उनले भने, ‘तर राष्ट्र बैंक, सम्बन्धित बैंक र पीडित कसैमार्फत उजुरी भने आएको छैन । हामीले जिल्लालाई घट्नाबारे बुझ्न निर्देशन भने दिएका छौँ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *