मकर जितुमाया सुरी हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चैत १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन तथा बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ७६ करोडको ३० प्रतिशत अर्थात २२ करोड ८० लाख बराबरको सेयर स्थानीयमा समेत सर्वसाधारणका लागि विक्री गर्न अनुमति पाएको थियो । दोस्रो चरणमा विक्री गर्न लागिएको कुल कित्ता सेयरमध्ये ८० हजार ७० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र ३२ हजार २८ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरि बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।

यो आईपीओ छिटोमा विक्री अवधि चैत २२ गते र ढिलोमा आगामी वैशाख ३ गतेसम्मका लागि तय गरिएको छ । तर पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा छिटो अवधिभिै मागभन्दा बढी आवेदन पर्दै आएकाले छिटो अवधिसम्म मात्र कम्पनीको आईपीओ विक्री खुला हुने निश्चित छ । कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको दोलखा जिल्लामा ६.४ मेगावाटको सुरिखोला जलविद्युत आयोजना र ७ मेगावाटको माथिल्लो सुरिखोला जलविद्युत आयोजना निर्माण गरेको छ । ६.४ मेगावाट क्षमताको सुरिखोला जलविद्युत आयोजनाबाट २०७९ बैशाख १८ गतेबाट व्यापरिक उत्पादन सुरु भएको छ भने ७ मेगावाट क्षमताको माथिल्लो सुरिखोला आयोजनाबाट आगामी चैत्र ३० गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ता भएको पूँजी  ५३ करोड २० लाख रहेको छ । सर्वसाधारणमा सम्पूर्ण कित्ता सेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ७६ करोड कायम हुनेछ । आयोजना निर्माणाधिन अवस्थामै रहेको यस कम्पनी आर्थिक वर्ष ०७८/७९ सम्म  ३ करोड ८८ लाखभन्दा बढी संचित नोक्सानीमा रहेको छ । आगामी आर्थिक वर्ष ०८०/८१ सम्म भने कम्पनीले रू. ७ करोड ८४ लाखभन्दा बढी संचित नाफा गर्ने प्रक्षेपण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *