सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको बताएका छन् । भारतको नयाँदिल्लीमा इन्टरनेशनल टेलिकम्युकेशन युनियन ९आइटीयु० को क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनेले नेपाललाई डिजिटल बनाउन सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ तयार गरी कार्यान्वयनमा लागेको बताए ।
सीमित क्षमताका कारण डिजिटल फ्रेमवर्क कार्यान्वयनलाई गति दिन समस्या भइरहेको उल्लेख गर्दै मन्त्री शर्माले भने, “मलाई विश्वास छ, आइटियुको क्षेत्रीय कार्यालय स्थापनाले नेपालको क्षमतामा देखिएको ‘ग्याम’ कम गर्न सहयोग गर्नेछ ।” क्षेत्रीय कार्यालय स्थापना भएसँगै सदस्य राष्ट्रमाझ तथा सहयोग आदानप्रदानमा मद्दत पुग्ने मन्त्री शर्माको विश्वास थियो । उनले दक्षिण एशियामा आइटीयुबाट प्राविधिक सहयोग, सूचना र सञ्चार प्रविधिमा नीति निर्देशनहरू कार्यान्वयन गर्न क्षेत्रीय डिजिटल संलग्नताबाट पनि फाइदा लिन सकिने विश्वास व्यक्त गरे ।
मन्त्री शर्माले भने, “द्विपक्षीय र बहुपक्षीय छलफल र ज्ञान आदानप्रदानलाई प्रोत्साहन गर्न आइटीयुका सदस्य राष्ट्रहरूबीचको भविष्यमा सहयोगका लागि आधार बन्नेछ, यस फोरमले कम विकसित देशहरू ९एलडिसीएस०, साना टापु विकासशील देशहरु ९एसआइडिएस०लगायत भूपरिवेष्ठित विकासशील देशहरू ९एलएलडिसिएस० का दूरसञ्चार र आइसीटिका आवश्यकता पूरा गर्न प्राथमिकता दिनेछ ।”
सन् २०१८ मा दुबईमा भएको ‘आइटीयुपिपी’ सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्षेत्रीय कार्यालयको परिकल्पना गरेको स्मरण गर्दै मन्त्री शर्माले नयाँ कार्यालयको स्थापनाले क्षेत्रीय उपस्थितिको अपर्याप्ततालाई पूरा गर्ने विश्वास व्यक्त गरे । दिगो विकासका लागि विकसित प्रविधि प्रयोग गर्दै कार्यक्रम र परियोजना सञ्चालन गर्न र आइटीयु सदस्य राष्ट्रहरूलाई नजिक ल्याउन मद्दत गर्ने उनको भनाइ छ ।
नयाँदिल्लीमा आइटीयुको क्षेत्रीय कार्यालयको स्थापनाले आइटियु विशेषज्ञता भएका सदस्य राष्ट्रको क्षमता निर्माणका लागि कोसेढुङ्गा सावित हुने बताउँदै मन्त्री शर्माले विद्यमान डिजिटल विभाजनलाई कम गर्ने विश्वास व्यक्त गरे । आइटियुले प्राविधिक सहयोगलाई मात्र सुदृढ नगरी क्षेत्रीय दूरसञ्चार विकासलाई पनि बढावा दिने र त्यसबाहेक, डिजिटल रूपान्तरणलाई पनि गति दिने उनको भनाइ छ ।






