नयाँ सारथी लघुवित्तले एफपीओ जारी गर्ने

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले सार्वजनिक निष्कासन (एफपीओ) निष्काशन गर्ने एजेन्डासहित १४औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सस्थाले आगामी चैत २८ गते वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभा होटल जुगल धुलिखेल काभ्रेपलाञ्चोकमा दिँउसो १ बजे सुरु हुनेछ ।

साधारणसभामा लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

त्यस्तै, नयाँ सारथी र विजय लघुवित्तबीच हुने मर्जर प्रक्रियालाई पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । १:१ स्वाप रेसियो अनुपातमा स्वाप रेसियो पारित गर्ने एजेन्डा छ ।

साथै, दुई लघुवित्त मर्ज भएपछि सेयर पुँजी संरचना परिपर्तन हुने भएकाले वित्तीय संस्थाको अधिकृत पुँजी, जारी पुँजी तथा थप सार्वजनिक निष्कासन (एफपीओ) सहित चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि संस्थाले चैत १५ गतेदेखि चैत २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत १४ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *