विकास बैंकहरुले मुद्दति निक्षेप र बचतको ब्याजदर घटाउने निर्णय गरेका छन् । डेभलपमेन्ट बैंकर्स एशोसिएसन(डिबान) ले चैत १ गतेदेखि लागू हुने गरी विकास बैंकहरुले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका हुन् ।
बैंकर्स एशोसिएसनले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको छ ।
फागुनमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.७५ प्रतिशत कायम भएको थियो । चैत १ गतेदेखि भने १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम हुनेछ।
यस्तै, एकवर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने घटेर ११.५० प्रतिशत कायम भएको छ । फागुनमा यस्तो निक्षेपको ब्याजदर पनि ११.७५ प्रतिशत नै थियो ।
यस्तै विकास बैंकहरुले चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.५० र रेमिट्यान्समा १२.५० प्रतिशत ब्याजदर कायम गरेका छन्। फागुनमा संस्थागतर्फ ९.७५ र रेमिट्यान्समा १२.७५ प्रतिशत ब्याजदर कायम गरेका थिए।
बचतको ब्याजदर ०.१५ प्रतिशतले घटेको छ । फागुनमा बचतको न्यूनतम ब्याजदर ६.७५ प्रतिशत रहेकोमा चैतमा भने न्यूनतम ६.६० प्रतिशत कायम गरिएको छ ।




