मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको फिकल गाउँपाालिका–४ को कुहिभीरमा आइतबार भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा २८ जना घाइते भएका छन् ।
सिन्धुली प्रहरीका अनुसार ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना हुँदा तीन पुरुष र तीन महिलाको मृत्यु भएको हो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर भएकाले हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवाले जानकारी दिए ।
दुर्घटनाका घाइतेहरुलाई उद्धार गरी खुर्कोट अस्पतालमा उपचारका लागि पठाइएको छ । बसमा करिब ३४ जना यात्रु रहेको जनाइएको छ । सिन्धुली प्रहरीका प्रवक्ता एवं डिएसपी चिरञ्जीवी दाहालका अनुसार सडकको भित्तामा ठोक्किएर बस दुर्घटना भएको प्रारम्भिक आकलन छ । दुर्घटनाको थप विवरण भने आउन बाँकी छ ।




