सहकारी बचाऔँ राष्ट्रिय अभियानले वृहत सहकारी भेला तथा चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । पछिल्लो समय सहकारी संस्थाहरुमा चारैतिरबाट आक्रमण हुन् थालेपछि सहकारी सञ्चालकहरुले सहकारी बचाऊ अभियानअन्तर्गत आन्दोलनको घोषणा गरेका हुन् ।

सहकारी सञ्चालकहरुले सहकारीमा व्यक्तिगत बचतको सीमा २५ लाख रुपैयाँ राख्ने प्रस्ताव तत्काल खारेजीसहित विभिन्न १३ बुदे माग राखेका छन् ।

सहकारी क्षेत्रमा देखिएको तरलता अभावको समस्यालाई सामुहिक समस्याका रूपमा स्वीकार गर्दै राज्य र अभियानका तर्फबाट समाधानका लागि तत्काल आवश्यक संवोधन गर्नुपर्ने, सन्दर्भ व्याजदर तत्काल खारेज गरि ब्याजदर स्वतन्त्र रुपमा बजारलाई नै निधारण गर्न दिइनुपर्ने, तरलता सकट व्यवस्थापनका लागि राज्यले कोष व्यवस्था गर्नुपर्ने, कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण तत्काल स्थापना गर्नुपर्ने लगायतका मागसहित आन्दोलनको घोषणा गरेका हुन् ।

समस्या समाधानका लागि पहल गर्न पटकपटक राष्ट्रिय सहकारी महासंघलाई ध्यानाकर्षण गराएपनि आफूहरुको माग सम्बोधन नभएपछि आफूहरु आन्दोलनमा उत्रनुपरेको सञ्चालकहरुको भनाइ छ । अहिले मुलुक नै आर्थिक संकटमा गुज्रिएकोले सहकारी क्षेत्रमा पनि व्यापक तरलता देखिएका कारण बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको सञ्चालकहरुले बताएका छन् ।





