प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ भएको बताएका छन् । उनले खेलकुद अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको स्पष्ट पारे ।
काठमाडौंको गोकर्णमा एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स सङ्घको आयोजनामा आयोजित १६औँ एसियन क्रस कन्ट्री च्याम्पियनसीपमा प्रधानमन्त्री प्रचण्डले भने, ‘आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको छ ।’
उनले खेलको महत्वलाई ठीक ढङ्गले बुझ्न सक्नेले मात्रै राष्ट्रको सही नेतृत्व गर्न सक्ने तथा जनआकाङ्क्षा सम्बोधन गर्न सक्ने उल्लेख गरे । खेलक्षेत्र विविधतामा एकता, सुशासन, दिगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भएकामा हामी सबैले गौरव गर्नैपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
‘खेल कूटनीतिमार्फत ठूला–ठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएको, ठूल्ठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका र आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनःमिलनका आधार खडा भएको छ’‘ प्रधानमन्त्री प्रचण्डले बताए । त्यस्तै खेलकै कारण ठूलाठूला युद्ध, मानवसिर्जित विपत्तिहरु समेत समाधान भएको बताउँदै खेल क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका साथ काम गरेको समेत बताए ।
उनले आगामी दिनमा समेत नेपाल सो संस्थाको उच्च प्राथमिकतामा पर्ने विश्वाससमेत व्यक्त गरे । प्रतियोगितालाई शानदाररूपमा सफल पार्न भूमिका खेल्ने सरकारी र गैरसरकारी क्षेत्रका सबै संस्था र प्रतिनिधिप्रति प्रधानमन्त्रीले आभार प्रकट गरे । च्याम्पियनसीपमा भाग लिने नेपालसहित ११ देशका खेलाडीमा प्रतियोगितामा राम्रो प्रस्तुतिको अपेक्षासहित उनले शुभकामना व्यक्त गरे ।




