सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी बुधबारदेखि हुने

सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी आगामी बुधबारदेखि सुरु हुने भएको छ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजना र नेफ्स्कून साकोस म्यानेजर्स क्लबको व्यवस्थापनमा फागुन २४ र २५ काठमाडौंको द सोल्टी होटलमा हुँदैछ।

नेपालका वित्तीय सहकारीका व्यवस्थापकीय प्रमुखहरुलाई समेटी गोष्ठीको आयोजना गरी प्राप्त उपलब्धिका सन्देशहरुको प्रवाह गर्दै जानु नेफ्स्कूनको दायित्व भएकोले प्रथम र दोस्रो गोष्ठीको सिकाइ र व्यवस्थापन प्रमुखहरुको माग एवं आवश्यकताका आधारमा गोष्ठी आयोजना गर्न लागिएको गोष्ठी व्यवस्थापन कार्यदलका संयोजक तथा नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरुले बताए।

उपलब्ध स्रोतसाधनलाई दृष्टिगत गरी वित्तीय सहकारी क्षेत्रका व्यवस्थापकीय तहमा कार्यरत कर्मचारी, नियमनकारी निकाय, सम्बन्धित सरोकारवाला एवं विकास क्षेत्रका सहयात्रीहरुसमेतको प्रतिनिधित्व रहने गरी करिब ४५० जनाभन्दा बढी सहभागिता रहने व्यवस्था मिलाइएको पनेरुले बताए। वित्तीय सहकारीको दर्शन र मूल्यमा आधारित व्यावसायिक जनशक्ति विकास गर्नु गोष्ठीको उद्देश्य रहेको समेत संयोजक पनेरुले बताए।

विश्वव्यापी नविनतम अभ्यास, अनुभव र सिकाइहरुमार्फत ज्ञान, सीप र प्रविधिको अवलम्बन एवं हस्तान्तरण गर्नु तथा राष्ट्रियस्तरमा भएका नवीनतम र सफल अभ्यासहरु आदानप्रदान गर्नुसमेत गोष्ठीको उद्देश्य रहेको पनेरुको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *