प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । ११ चैत २०७९ पछि नियुक्ति हुने नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् ।
प्रहरी प्रधान कार्यालय पुगेर बुधबार उनले राजीनामा दिएको प्रहरी स्रोतले बतायो । सिंह हाल सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख थिए । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको दौडमा रहेका बेला जन्ममिति विवाद सार्वजनिक भएपछि सिंहले राजीनामा दिएका हुन् ।
बढुवाका लागि रस्साकस्सी चलिरहेका बेला सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमर फरकफरक भेटिएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो । सिंहले पेश गरेको २२ जेठ २०४२ मा जारी नागरिकता प्रमाण पत्रको प्रतिलिपिमा उनको उमेर १८ वर्ष उल्लेख छ । जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता अनुसार उनको जन्ममिति २०२४ हुनुपर्ने हो । प्रहरी प्रधान कार्यालयको विवरणमा उनको नागरिकता अनुसार उनको जन्ममिति २२ जेठ २०२४ हुने उल्लेख छ ।







