प्रभु क्यापिटलले फागुन १८ गतेदेखि प्रभु स्मार्ट फण्ड बिक्री खुला गर्दै

प्रभु क्यापिटलले फागुन १८ गतेदेखि प्रभु स्मार्ट फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई निष्काशन गर्न लागेको हो ।

सोमध्ये १ करोड १२ लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई सुरक्षित राखिएको छ भने १ प्रतिशत वा ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको छ । सर्वसाधारणले बाँकी ६ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

निष्काशन बन्द छिटोमा फागुन २३ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत ५ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्ड एक बन्दमुखि योजना हो । योजनाको कुल आकार ८० करोड रुपैयाँ रहेको छ। यस निष्काशनमा न्यूनतम ४ करोड इकाई बिक्री हुनु पर्नेछ। सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जनाएको छ। यस योजनाको अवधि बाँडफाँट भएको मितिले १० वर्ष हुनेछ। सोपश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिनेछ ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *