काठमाडौं । सरकारले क्यासिनो सञ्चालनलाई थप कडाइ गर्ने भएको छ । जसका लागि सरकारले क्यासिनो सञ्चालकलाई नियमन गर्न कडा नीति अवलम्बन गर्ने भएको छ ।
सरकारले एउटै इजाजतबाट एकभन्दा बढी क्यासिनो चलाउन प्रतिबन्ध लगाउन हाल विद्यमान क्यासिनो सञ्चालनसम्बन्धी ऐन संशोधन प्रक्रिया अघि बढाएको छ । एक वर्षभित्रै लागू हुनेगरी सरकारले पर्यटन ऐन २०३५ संशोधनअन्तर्गत यो विधेयक प्रतिनिधिसभामा दर्ता गराएको हो ।
संसदबाट पारित भए लगत्तै नयाँ प्रावधान लागू हुने पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले यस्तो जानकारी गराएका हुन् । विभागका अनुसार संशोधनका लागि प्रस्तावित प्रावधानअनुसार एक वर्षभित्रै क्यासिनो सञ्चालक कम्पनीले एउटाभन्दा बढी चलाउनुपरेमा नयाँ कम्पनी दर्ता गर्नुपर्नेछ ।
एउटा इजाजतले एकभन्दा बढी चलाउन नपाउने
‘यी विषय नियमावलीमा थियो । मनी लाउन्ड्रिङ (सम्पत्ति शुद्धीकरण)का कारण यसलाई ऐनमा लगिएको हो । पुराना क्यासिनोको हकमा एकभन्दा बढी क्यासिनो सञ्चालन गर्दै आएका कम्पनीले एक वर्षभित्रै अलग कम्पनी स्थापना गरेर इजाजत लिनुपर्ने व्यवस्था लागू गर्न लागिएको विभागले जनाएको छ ।
विभागका अनुसार यसअघि प्रशासनिक निर्णयअनुसार २०७० सालभन्दा अगाडि एउटै लाइसेन्सबाट चारवटा क्यासिनो सञ्चालन गर्न पाउने व्यवस्था थियो । नियमावली र आर्थिक विधेयकले एउटै मात्र चलाउन अनिवार्य गरे पनि मुलुकमा चारवटा कम्पनीले अदालतको स्टे अर्डरबाट एकभन्दा बढी क्यासिनो सञ्चालन गरेका थिए ।
मुलुकमा रक इन्टरनेसनल, ह्याप्पी आवर र सेन्ट्रल मिडियाले एउटै लाइसेन्समार्फत चार–चारवटा क्यासिनो चलाएका छन् । संसदबाट पारित भएको एक वर्षमा यी क्यासिनो सञ्चालकले छुट्टाछुट्टै कम्पनी दर्ता गरेर बाँकी तीनवटा सञ्चालन गर्न पाउने व्यवस्था लागू हुने उनले जानकारी दिए ।
उनका अनुसार रक इन्टरनेसनल साथी (धनगढी), बोधी रेडसन (भैरहवा), रियाज (झापा), सुरज (वीरगन्ज) सिल्भर हेरिटेज, सांग्रिला (लाजिम्पाट), टाइगर प्यालेस (भैरहवा), ह्याप्पी आवर स्विट ड्रिम ( महेन्द्रनगर, लाकोल (भैरहवा), ढाका (काँकडभिट्टा), स्नेहा (नेपालगन्ज) सेन्ट्रल मिडिया ड्रिमल्यान्ड ओपेरा (महेन्द्रनगर), प्लाटिनम (काठमाडौं), ड्रिमल्यान्ड (भैरहवा), भिस्वा (वीरगन्ज) रहेका छन् ।
यसैगरी, लामो समयदेखि होटल मर्मतसम्भार र बन्द रहेका कारण सेवा बन्द भएका कम्पनीलाई सेवा स्थान्तरणका लागि सरकारले सहज बनाइदिने भएको छ । यसका लागि कारणबस सेवा सञ्चालनबाट वञ्चित क्यासिनोले पर्यटन मन्त्रालयको अनुमति लिएर होटल परिवर्तन गर्न पाउने उनले जानकारी दिए ।
कहिलेकाहीं होटल रिनोभेसनको बेला क्यासिनो सञ्चालनमा बाधा हुन्छ । यो अवस्थामा सेवा सञ्चालन सहज होस् भन्ने हिसाबले यो ऐन लागू गर्न लागिएको विभागले जनाएको छ । सरकारलाई तिनुपर्ने बक्यौता नबुझाएका हारण अहिले काठमाडौं उपत्यकालगायत देशभरका केही ठाउँका क्यासिनो बन्द भएका छन् । जसमध्ये होटल एभरेस्ट, सांग्रिला, याक एन्ड यतीलगायत विभिन्न होटलका क्यासिनोहरू बन्द नै छन् ।
पर्यटन विभागका अनुसार हाल मुलुकमा २८ मध्ये २६ वटा क्यासिनो सञ्चालित छन् । विभागका अनुसार एसएचएल, ह्याप्पी आवर, रक इन्टरनेसनल, याक एन्ड यती, -याडिसनलगायतका होटलमा सञ्चालित क्यासिनोले बक्यौताबापत १ अर्ब ५५ करोड रुपैयाँ तिर्न बाँकी छ । राजधानी दैनिक







