पुस पन्ध्र होस् वा माघे सङ्क्रान्ति । पोखरा र यस आसपासका गाउँमा ‘लौ है मालेपाटन ढोडबेँसीको खुदो आयो’ भन्दै टिनका टिन खुदो बोकेर बेच्दै हिँड्ने चलन हराइसकेको छ । यातायातको सुविधासँगै बढ्दो बजारीकरणले बोकेर घर–घरमा पुगी खुदो बेच्ने चलन हराए पनि खुदोका लागि आफ्नो विशिष्ट पहिचान बनाएको पोखरा महानगरपालिका –३२ स्थित मालेपाटन र ढोडबेँसीमा अहिले पनि उत्तिकै उखुखेती गरी खुदो उत्पादन गरिन्छ ।
मालेपाटन ढोडबेँसी क्षेत्रमा उखुखेती कहिलेबाट गर्न थालियो भन्ने यकिन तिथिमिति नभए पनि करिब दुई सय वर्षअघिदेखि नै यहाँ उखु लगाउने र खुदो उत्पादन गर्ने चलन रहेको पाइएको मालेपाटन कृषि सहकारी संस्थाका अध्यक्ष महेश्वर पौडेलले जानकारी दिए । “खुदो यस क्षेत्रको विशिष्ट पहिचान हो, यसको व्यावसायिक खेतीतर्फ स्थानीयवासी आकर्षित छन्”, उनले भने, “दुई सय वर्षदेखिको उखु लगाउने र खुदो उत्पादन गर्ने ऐतिहासिक परम्परालाई जोगाउँदै यसलाई अझै व्यावसायिक बनाउनेतर्फ हामीले जोड दिएका छौँ ।”
सामान्यतः पुसको दोस्रो हप्तादेखि माघको पहिलो हप्तासम्म पोखरा र आसपासका क्षेत्रमा खुदोको कारोबार हुने गर्दछ । नेपाली संस्कृतिअनुसार पुसे पन्ध्रमा लटे ९अनदीको चामललाई घ्यू खुदोसहित राखेर बनाइने परिकार० खाने र माघे सङ्क्रान्तिमा खुदो चिउरा खाने चलनले पनि यस अवधिमा यसको खोजी हुने गर्दछ ।
उखु लगाएको वर्ष दिनमा पेल्न तयार भएको उखु कोलमा पेल्ने, रस निकाल्ने र पकाएर खुदो बनाउने गरिन्छ । समयको गतिसँगै विगतमा काठे कोलमा पेल्ने गरिएको उखु एक दशक अघिसम्म गोरुका माध्यमबाट कोल घुमाएर पेल्ने गरिन्थ्यो । पछिल्ला वर्षमा भने विधुतीय कोलको प्रयोग गरी उखु पेल्ने गरिएको पौडेलले जानकारी दिए ।
कास्की र आसपासका धेरै स्थानमा विगतमा गर्ने गरिएको उखुखेती लोप हुनलागेको वास्तविकतामा यहाँका स्थानीय यसको व्यावसायिक विस्तारमा जुटेका छन् । व्यावसायिकताको प्रयाससँगै सङ्गठित बनेका यहाँका स्थानीयले २०६७ यता मालेपाटन कृषि सहकारी संस्था लिमिटेड स्थापना गरी सञ्चालनमा ल्याएका छन् । सहकारी स्थापनासँगै खुदो र दूधको उत्पादन एवं बजारीकरणसँगै बाख्रा, कुखुरापालनलगायत लगानी गरिँदैआएको छ ।
मालेपाटन र ढोडबेँसी क्षेत्रमा विगतमा रु ७० लाखदेखि रु एक करोडसम्म खुदोको कारोबार हुनेगरेको थियो । पछिल्ला वर्षमा उखुमा देखिएको रोग, कृषिप्रतिको अनिच्छालगायत कारणले यसको खेती कम हुँदैगएको छ । मालेपाटन ढोडबेँसी क्षेत्रमा करिब ९० परिवारले दुई सय रोपनीमा उखु लगाउँदै आएका छन् ।
उखु लगाएको एक वर्षमा काट्नका लागि तयार हुने र काटिएको लाँक्रा मेसिनमा पेलेर रस निकालिन्छ । अनी रस पकाइन्छ । उक्त रसलाई घण्टौं पकाएपछि खुदो तयार हुन्छ । यहाँका किसानले कोलमा उखु पेल्थे । दाइँमा जस्तै गोरुले कोल घुमाउँथे । यस क्षेत्रमा २०५७ सालदेखि भने नयाँ प्रविधिको प्रयोग गरी मेसिनका माध्यमबाट उखु पेल्ने गरिएको छ । पकाउने कामलाई पनि व्यवस्थित बनाइएको कृषक रामप्रसाद ढकालले जानकारी दिए । रासस







