राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले सन् २०२३ मा विश्व अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थाबाट गुज्रने अनुमान गरिएकाले नेपालले आफ्नो अर्थतन्त्रलाई उचित ढङ्गले व्यवस्थापन गर्नुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले आज काठमाडौँमा आयोजना गरेको ‘अर्थतन्त्रः अबको बाटो’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै वाग्लेले नेपालले आफ्नो वित्तीय खाता व्यवस्थापनमा ठूलो चुनौती भोग्नु परेको बताएका हुन् ।
अहिले विश्व अर्थतन्त्रमा मुद्रास्फीति सबैभन्दा ठूलो समस्याका रुपमा रहेको उनको भनाइ छ । सन् १९७०/८० को पुनरावृत्ति हुने अवस्था देखिएका कारण केन्द्रीय बैंकहरुले कसिलो मौद्रिकनीति अवलम्बन गर्ने अवस्था आएको पनि वाग्लेले बताए । वित्तीय खाताको सन्तुलन कायम गर्न अहिलेको सरकारले मुख्य पहल गर्नुपर्ने बताउँदै उनले सरकारी राजस्वले चालू खर्च मुस्किलले धान्न सक्ने अवस्था रहेको, पूँजीगत खर्च न्यून रहेको, सरकारी खर्च र सामाजिक सुरक्षाको दायित्व बढ्दै गएको बताए । उनका अनुसार सार्वजनिक संस्थानको प्रभावकारिता देखिन सकेको छैन । साथै खर्चमा मितव्ययिता हुन नसक्दा सरकारी राजस्वले चालू खर्च नै धान्न समस्या भएको छ ।






