विमान दुर्घटनामा परेका २ जना अझै फेला परेका छैनन् । दुर्घटनाको तेस्रो दिन मंगलबार पनि उनीहरुको पत्ता नलागेपछि खोजी गर्न सेती नदीको पानी घटाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख टेक बहादुर केसीका अनुसार सम्पर्कविहीन रहेका २ जना खोजी कार्यमा जटिल भएपछि सेती नदीको पानी घटाइएको हो ।
सेती नदीको पानीलाई याम्दीको पुलबाट सिँचाइका लागि बनाइएको नहरमा हालिएको छ । नदीको पानी घटाइएसँगै मंगलबार गोताखोरसहित ड्रोनको प्रयोग गरिएको छ । ड्रोन प्रयोग गरी सोमबार २ जनाको शव पत्ता लगाइएको थियो ।
दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार ७ वटा शव फेला परेको थियो । आइतबार काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोचमा दुर्घटनामा परेको थियो । विमानमा ४ चालक दल र ६८ यात्रुसहित ७२ जना सवार थिए ।






