थप छ क्रसर उद्योग बन्द

पछिल्लोपटक नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा अवैधरुपमा सञ्चालनमा रहेका छ क्रसर उद्योग बन्द गराइएको छ ।

गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो । सोही पत्रअनुसार थप छ क्रसर उद्योग बन्द भएका हुन् । गृहको परिपत्रको पालना गर्दे नियमविपरीत सञ्चालनमा रहेका क्रसर बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । सुनवल नगरपालिका–११ को इन्द्रणी क्रसर उद्योग, सुस्ता गाउँपालिका–५ को ओम गिट्टी क्रसर उद्योग, बर्दघाट नगरपालिका–१३ को ओम बालुवा प्रशोधन उद्योग, सरावल गाउँपालिका–२ को मामा भान्जा बालुवा गिट्टी प्रशोधन तथा निर्माण सामग्री प्रालि, सुनवल नगरपालिका–४ मा नारायणगढ बुटवल सडक आयोजनाको क्रसर र प्रतापपुर गाउँपालिका–९ मा हुलाकी सडक आयोजनाद्वारा सञ्चालित क्रसरलाई बन्द गराइएको छ ।

जिल्लामा यसअगावै सात क्रसर उद्योग रहेकोमा एउटा यसअघिनै बन्द थियो । सुनवलमा रहेको लुम्बिनी रोडा क्रसर उद्योग यसअघि देखिनै बन्द छ । जिल्लामा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएका छन् । यस्तै तोकिएको अवधि सकिएर पनि नवीकरण नगराएका कपितय कतिपय उद्योग पनि सञ्चालनमा छन् ।

विकासबारे स्थानीयसँग संवाद गर्दै सांसद चौधरी

उद्योगपति एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको विकास र स्थानीयका समस्यासँग नागरिकसँग छलफल गरेका छन् । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद चौधरीले निर्वाचन क्षेत्रको समग्र विकासका बारेमा स्थानीयसँग छलफल गरेको हो ।

सरावल र प्रतापपुर गाउँपालिकाका विभिन्न वडामा पुगेर उहाँले स्थानीयसँग विकास निर्माण र स्थानीय समस्याकाबारेमा छलफल गरे । सो क्रममा उनसमक्ष स्थानीयले बाढी, डुबान र सिँचाइको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे ।

सरावल –६ का झिंकुसिंह चौधरीले डुबानले बर्सेनि समस्या हुने गरेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्नुभयो । “हामीले प्रत्येक वर्ष डुबानको समस्या झेल्दै आएका छौँ । सरकारले सधैँ आश्वासन मात्रै दिन्छ तर कहिल्यै पनि समस्या समाधानका लागि गम्भीर देखिएन”, उहाँले भन्नुभयो, “अब हाम्रो यो समस्या समाधान हुनेछ भन्ने आशा गरेका छौँ ।”

त्यस्तै प्रतापपुर–५ का रामजी सिंहले सिँचाइको समस्याबारे अवगत गराउनुभएको थियो । “सिँचाइको भरपर्दो व्यवस्था नहुँदा किसानले ठूलो समस्या भोग्दै आएका छौँ”, उनले भने, “सिँचाइको समस्या समाधानका लागि नहरमा नियमित पानी आउने व्यवस्था गर्नुपर्छ ।”

सांसद चौधरीले आफूले निर्वाचनका बेला गरेका प्रतिबद्धता कार्यान्वयनका लागि प्रतिबद्ध रहेको प्रष्ट पार्नुभयो । उहाँले पश्चिम नवलपरासीको दक्षिण क्षेत्रमा बर्सेनि हुने डुबानको समस्या समाधानका लागि पहल भइसकेको बताउनुभयो । उहाँले नेपाल सरकार र भारत सरकारबीच नै डुबान समस्याका बारेमा उच्च तहमा छलफल भइरहेको बताउनुभयो । त्यस्तै उहाँले निर्वाचन क्षेत्रको समग्र विकासका लागि स्पष्ट कार्ययोजनासहित खाका बनाउने काम पनि भइरहेको बताउनुभयो ।

उनले निर्वाचन क्षेत्रका विकासका लागि व्यवस्थित कार्ययोजना बनाएर काम हुने बताए । सोही अवसरमा प्रदेशसभा सदस्य सन्तु कलवारले यस क्षेत्रको बाढी तथा डुबानको समस्या समाधान गर्न प्रतिनिधिसभा सदस्य चौधरीसँग समन्वय गरेर आफूले पनि काम गरिरहेको प्रतिबद्धता जनाए । सांसद चौधरी नवलपरासी–१ का विभिन्न स्थानमा पुगेर अन्तक्र्रिया गर्दै आएका छन् । रासस

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *