काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि सुकुम्बासी भोट बैंक मात्र भएको बताएका छन् । मंगलबार ओलीले बल प्रयोगबाट सुकुम्बासी समस्या समाधान नहुने र त्यहाँ कुनै शत्रु नभएको टिप्पणी गरेपछि सामाजिक संजालमार्फत मेयर बालेनले जवाफ फर्काएका हुन् ।
जवाफमा बालेनले २०४७ सालयता १४ वटा भूमि आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न नसकेको बताएका छन् । उनले लेखेका छन्, ‘मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्बासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे ।’
बालेनले सकुम्बासीहरुलाई ओलीले गुठी आन्दोलन जस्ता आफ्ना स्वार्थ विपरितका कुराहरूमा प्रयोग गरेको आरोप समेत लगाएका छन् । ‘बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नुभयो । त्यो पनि राजनीतिक स्वार्थवश्,ु बालेनले लेखेका छन्, तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुन्धारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले विरोध गर्नु असामान्य होइन ।’
बालेनले परिस्थिति फेरिएको बताउँदै सकेको सहयोग गर्न तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न सुझाव दिएका छन् ।

सोमबार एकीकृत बागमती सभ्यता परियोजनाले थापाथलीस्थित बागमती किरानामा बसेको सुकुम्बासीहरुलाई हटाउन खोज्दा झडप भएको थियो । सो क्रममा महानगर प्रहरीका १८ प्रहरी घाइते भएका थिए । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ ।






