वीरगञ्ज भन्सारमा राजस्व सङ्कलनमा ह्रास

देशको प्रमुख व्यापारिक नाका वीरगञ्जको राजस्व सङ्कलन लगातार चार महिनादेखि घट्दै गएको छ । चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयले कात्तिक महिनामा ६० प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।

चालु आवको साउनमा रु १५ अर्ब २० करोड सात लाखको लक्ष्य लिएकामा कार्यालयले रु एक अर्ब २१ करोड सात लाख कम अर्थात् रु १२ अर्ब ९८ करोड ९९ लाख सङ्कलन गरेको छ । भदौमा रु १९ अर्ब २९ करोड ४५ लाख राजस्वको लक्ष्य पाएको भन्सार कार्यालयले रु पाँच अर्ब १५ करोड २० लाख कम अर्थात् रु १४ अर्ब १४ करोड २५ लाख मात्र सङ्कलन गरेको कार्यालयका सूचना अधिकृत सुमित गुप्ताले जानकारी दिए ।

असोजमा रु २१ अर्ब ८८ करोड ३३ लाखको लक्ष्य राखेकामा रु नौ अर्ब ३८ करोड ९४ लाख कम अर्थात् रु १२ अर्ब ४९ करोड ३८ लाख राजश्व सङ्कलन गरेको छ । चालु आवको साउन, भदौ र असोजमा राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न चुकेको कार्यालयले कात्तिकमा लक्ष्यभन्दा न्यून सङ्कलन गरेको छ ।

कात्तिकमा रु २१ अर्ब ६५ करोड ४२ लाख राजस्व सङ्कलनको लक्ष्य थियो । तर कार्यालयले रु आठ अर्ब ७२ करोड ९५ लाख कम अर्थात् रु १२ अर्ब ९२ करोड ४६ लाखमात्र सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा ४० प्रतिशत कम हो ।

वीरगञ्ज भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने वाहन, इन्धनलगायत १० वस्तुको आयातमा सरकारले लगाएको प्रतिबन्धका कारण राजस्व सङ्कलनमा ह्रास आएको सूचना अधिकारी गुप्ताको भनाइ छ । गत आवको पहिलो चौमासिकको तुलनामा चालु आवमा इन्धन आयातमा ७४ प्रतिशत र वाहन अयातमा ७९ प्रतिशतले राजस्व सङ्कलनमा कमी आएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *