अहिले लाभांश घोषणाको सिजन चलिरहेको छ । विभिन्न कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई धमाधम लाभांश घोषणा गरिरहेका छन् ।
हालसम्म ८ वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । १८ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्न बाँकी रहेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, एनसिसी, बैंक अफ काठमाण्डू, कुमारी र सिटिजन्स बैंकले लाभांश प्रस्ताव गरेका छन् । जसमध्ये कुमारी र सिटिजन्स बैंकको साधारणसभाबाट लाभांश पारितसमेत भइसकेको छ ।
अन्य बैंकहरु पनि लाभांश घोषणाको आन्तरिक तयारीमा जुटेका छन् । आज हामी माछापुच्छ्रे बैंकको लाभांश इतिहासको बारेमा जानकारी गराउन गइरहेका छौँ ।
यस्तो छ माछापुच्छ्रे बैंकको लाभांश इतिहास
माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि १३.३० प्रतिशत बोनस सेयर र ०.७० नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यसैगरी २०७६/७७ मा ७.०३ प्रतिशत बोनस सेयर र ३.३७ नगत लाभांश (करसहित) गरि कुल १०.४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
आथिक वर्ष २०७५/७६ बैंकले आफ्नो मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १६ प्रतिशत लाभांश बाँडेको थियो ।
आर्थिक वर्ष २०७४/७५ मा बैंकले १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गरेको थियो । सो आर्थिक वर्षको लागि बैंकले बोनस भने प्रस्ताव गरेको थिएन ।
आर्थिक वर्ष २०७३/७४ मा बैंकले ९ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
आर्थिक वर्ष २०७२/७३ मा बैंकले कुल २१.८४ प्रतिशत लाभांश बाँडेको थियो । जसमा २०.७५ प्रतिशत बोनस सेयर र १.०९ प्रतिशत नगद लाभांश थिए ।
आर्थिक वर्ष २०७१/७२ मा १६ प्रतिशत बोनस र ८४ प्रतिशत कर प्रयोजनार्थ नगद गरी कुल १६.८४ प्रतिशत लाभांश वितरण गरेको बैंकले २०७०/७१ मा १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
आर्थिक वर्ष २०६६/६७ मा भने बैंकले १० प्रतिशत बोनस सेयर बाँडेको थियो ।
यसपटक कति देला ?
माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७८/७९ को लागि लाभांश घोषणा गर्न बाँकी नै छ । बैंकले आफ्नो सेयरधनीलाई कति लाभांश देला भन्ने चासो सेयरधनीहरुमा छ । यस वर्ष प्रायजसो बैंकहरुले नगद लाभंशलाई प्राथमिकता दिइरहेको बेला माछापुच्छ्रेले के गर्ला भन्ने प्रश्न लगानीकर्ताको मनमा उब्जिएको छ ।
कुनै पनि कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश अर्थात् प्रतिफल वितरण गर्ने गर्छन् । त्यसैले गत वर्ष उक्त कम्पनीको नाफा र लगानीकर्तालाई बाँड्न सक्ने वितरणयोग्य नाफा कति छ भन्ने कुराले महत्वपूर्ण अर्थ राख्छ ।
। बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एक अर्ब ३२ करोड ८४ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । बैंकको हालको चुक्ता पुँजी १० अर्ब २५ करोड ७१ लाख रुपैयाँ रहेको छ ।
यसपटक माछापुच्छ्रे बैंकले १२.९५ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता छ
बैंकको बारेमा
माछापुच्छ्रे बैंक लिमिटेड वि.सं. २०५४ सालमा नेपालको पश्चिमाञ्चल क्षेत्रबाट पहिलो क्षेत्रीय वाणिज्य बैंकको रूपमा संस्थापना भएको हो र पोखराबाट वि.सं. २०५७ सालमा देखि बैंकिंग कारोबार सुरु भयो। बैंकले नयाँ प्रविधि र अन्तर्राष्ट्रिय अभ्यासको अनुसरण गर्दै ग्राहकहरुको आवश्यकता पुरा गर्न उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।
बैंकले देशको उद्योगमा नयाँ प्रविधी ल्याउन अग्रसर रहेको छ। बैंकले आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सुविधाहरू जस्तै अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, सेफ डिपोजिट लकर सुविधा, बिल भुक्तान (टेलिफोन र मोबाइल), एटीएम, भिसा डेबिट कार्ड प्रदान गर्दै आएको छ । साथै यस बैंकको शाखाहरु मार्फत ग्राहकहरूलाई ३६५ दिन बैंकिङ र संध्याकालीन काउन्टर सेवा प्रदान गर्दै आएको छ ।
माछापुच्छ्रे बैंकलाई कुशल र व्यावसायिक तरीकाले उत्तम वित्तीय सेवाहरू प्रदान गर्ने एक सबल र उत्कृष्ट संस्था बनाउने उद्देश्य र दृष्टिकोण राखी बैंक प्रतिष्ठित गैरआवासीय नेपाली, व्यवसायी र उद्योगपतिद्वारा प्रवर्द्धित भएको हो ।
हाल १० अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजीको साथ देशैभर १६५ शाखा कार्यालय, १६५ शाखारहित बैंकिङ इकाईहरु, ९ एक्स्टेन्सन काउन्टरहरू र २०१ एटीएम फैलिएको माछापुच्छ्रे बैंक राष्ट्रिय स्तरको अग्रणी बैंक बन्न सफल रहेको छ ।







