प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै भाषण गरेर मात्र गुमेको नेपालको भूमि फिर्ता नहुने बताएका छन् । दार्चुलामा भाषण गरेर गुमेको भूभाग फिर्ता हुन नसक्ने भन्दै हिम्मत भए बन्दुक लिएर सीमामा लड्न जान देउवाले ओलीलई चुनौती दिए ।
डडेलधुराको भद्रपुरमा शनिबार आयोजि त चुनावी सभालाई सम्बोधन गर्दै देउवाले ओलीलाई जवाफ फर्काएका हुन् । ‘भाषण गरेर फिर्ता हुने भए काठमाडौंमै भाषण गरे भइहाल्थ्यो नि !’ उनले कूटनैतिक माध्यमबाट मात्र नेपालले गुमेको भूभाग फिर्ता ल्याउनुबाहेक अर्को विकल्प नभएको पनि बताए । ‘यस्तो संवेदनशील विषयलाई भोट माग्ने माध्यम बनाउनु अनूचित हो ।’
शुक्रबार ओलीले दार्चुलामा चुनावी सभालाई सम्बोधन गर्दै गुमेको भूभाग एक इन्च पनि नछोडी फिर्ता ल्याउने बताएका थिए भने सत्तारुढ दलहरु कालापानीको क उच्चारण गर्नसमेत डराएको टिप्पणी गरेका थिए । उनले लिपुलेक–कालापानीको मुद्दालाई प्रमुख चुनावी मुद्दा बनाउँदै आफ्नो कारणले चुच्चे नक्सा पास भएको बताएका थिए ।






