सन् २०३५ देखि डिजेल र पेट्रोलबाट चल्ने कार प्रतिबन्ध लगाएर विद्युतीय सवारीलाई वृद्धि गर्दै लैजान प्रस्ताव यूरोपेली संघ (ईयू)का मुलुक एक मत भएका छन् । जलवायु परिवर्तनको गतिलाई न्यूनीकरण गर्नका लागि त्यस्ता कारलाई प्रतिबन्ध लगाउने र विद्युतीय सवारीलाई वृद्धि गर्दै लैजाने प्रस्ताव ईयूबाट पारित भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार यससम्बन्धी नयाँ कानुनको मस्यौदा तयार गर्ने यूरोपेली आयोग, कानुन पारित गर्ने यूरोपियन संसद र कार निर्माता कम्पनीहरु पनि २०३५ देखि डिजल तथा पेट्रोल कार प्रतिबन्धमा सहमत भएका छन् ।
साथै नयाँ उत्पादित कारले सन् २०२१ को तुलनामा २०३० सम्म ५५ प्रतिशत कार्बनडाइअक्साइडको मात्रा कटौती गर्नुपर्ने प्रस्ताव पनि स्वीकृत भएको छ । ईयूले बिहीबार पूर्णता दिएको सहमतिअनुसार अब यूरोपियन युनियनले २०३५ देखि बिक्री हुने कारबाट कार्बनडाइअक्साइडको मात्रा शून्य गर्नका लागि आवश्यक मस्यौदा तयार गर्नेछ ।







