सिटी एक्स्प्रेस मनि ट्रान्सफरबाट हुण्डी कारोबारको धन्दा ! [भाग-१]

आम्दानी धेरै गर्ने प्रलोभनमा सिटी एक्स्प्रेस मनि ट्रान्सफरले आफ्ना एजेन्टहरुलाई भित्रि रुपमा हुण्डी कारोबारमा संलग्न गराएको छ । उसले विभिन्न देशमा र नेपालभित्रका एजेन्टहरुलाई हुण्डी कारोबारमा प्रयोग गरेको पाइएको छ । उसले हुण्डीबाट कारोबार गर्दा धेरै नाफा देखिएपछि डिजिटल कारोबारलाई समेत निरुत्साहित गर्दै नगदमै रेमिट्यान्स पठाउनेगरी कारोबार गर्न आफ्ना एजेन्टहरुलाई एकएकगरी प्रशिक्षण दिने गरेको छ । पछिल्लो समय डिजिटल माध्यमबाट कारोबार बढीरहेको छ । तथापी उक्त कम्पनीले नगदमै कारोबार गर्नमा एजेण्टहरुलाई दवाव दिदै आएको एक एजेन्टले बताएका छन् ।

यसरी फस्दैछ सिटि एक्सप्रेस हुण्डी कारोबारमा

त्यसो त सो कम्पनी उदाउँदो रेमिट्यान्स कम्पनीका रुपमा चिनिन्छ । यसका अध्यक्ष चन्द्र टन्डन हुन् । उनी हाल रेमिटर्स एशोसियसनको अध्यक्ष पनि हुन् । रेमिट्यान्स कम्पनीबाटै राम्रो आम्दानी गरेका उनले करिव ६ बर्षदेखि हुण्डी कारोबार थालेको रहस्य खुलेको छ । कोभिडको समय केही देशको भ्रमण गरेपछि उनले यो गतिलाई तिब्र रुपमा विस्तार गरेका हुन् । कोभिडको समयमा मात्रै उनले १० अर्बमाथिको कारोबार हुण्डीबाट गरेको पाइएको छ । हुण्डी कारोबारबाट आउने नाफा राम्रो भएपछि बाहिर आधिकारीक कम्पनी देखाएर भित्रि रुपमा हुण्डी कारोबार गरिँदै आएको छ ।

कमिशन बढी दिने भन्दै देशभित्रका आफ्ना एजेन्टसँग विदेशका एजेन्टलाई कोडिनेशन गराएर उक्त कम्पनी हुण्डी कारोबारमा अघि सरेको छ । पछिल्लो समय आइएमई, इसेवा, फोनपे, खल्ती तथा मोवाइल डिजिटल सिष्टमको विकास भएपछि क्यास कारोबार गर्ने उनको कम्पनी समस्या उन्मुख हुने देखियो । तथापी देखाउनका लागि भने डिजिटल कम्पनीहरुसँग उक्त कम्पनीले संझौता पनि गरेको छ । तर अन्य कम्पनीसँग कारोबार गर्दा ती कम्पनीलाई पनि कमिशन दिनुपर्ने भएपछि हुण्डीबाट नाफा आउने चन्द्र टण्डनले मेसो पाए ।

क्यास मै कारोबार गर्न रमाउने र डिजिटल कारोबार गर्दा अरु कम्पनी हाबी हुने भएपछि भित्रि रुपमा आफ्ना एजेन्टलाई कमिशन धेरै दिनेगरी चन्द्र टण्डनले हुण्डी कारोबारमा एजेन्टलाई अघि सार्दै आएका छन् । उनका केही एजेन्टहरु पक्राउ परिसकेका छन् । तर पक्राउ परेका एजेन्टलाई मोटो रकम दिएर आफ्नो कम्पनीको बदनाम हुनबाट उनले जोगाउने गरेका छन् । देशका विभिन्न शहरमा अरु नै कम्पनीको नाममा उनले मुख्य एजेन्टहरु राख्ने गरेका छन् ।

२०६४ साल असार २७ गते कम्पनी स्थापना भएको सिटी एक्सप्रेस मनी ट्रान्सफरको “समृद्धी को उत्सव” “जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस” भन्ने नारा छ । कम्पनीका अनुसार देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु छन् । ती एजेन्टहरुमध्ये केही जिल्लामा आफ्नै लगानीमा शक्तिशाली हुण्डी एजेन्ट राखिएको छ ।

अन्य अधिकाँस एजेन्टहरुले भने अरु कम्पनीसँग पनि सहकार्य गरेर काम गर्ने गरेका छन् । बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने गरि पनि कारोबार भइरहेको कम्पनीले बताउँदै आएको छ । तथापी हुण्डी कारोबार बारे भने कम्पनी मौन छ । यस बारेमा हामीले सिटि एक्सप्रेसका चन्द्र टण्डनसँग पटक पटक सम्पर्कको प्रसास गर्दा उनी सम्पर्कमा आउन चाहेका छैनन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरले कहाँ कहाँबाट कसरी गर्दै आएको छ हुण्डी कारोबार ? अर्को रिपोर्टमा प्रस्तुत गरिने छ ।

पछिल्लो समय आर्थिक क्षेत्रमा सुनिएका शब्दहरुमध्ये सबैभन्दा बढी सुनिएको शव्द हो हुण्डी । हुण्डी एक अनाधिकृत तथा गैरकानुनी पैसा पठाउने माध्यम हो । अहिले नेपाल लगायतका अरु धेरै देशहरुमा हुण्डीको व्यापक रुपमा प्रयोग हुँदै आएको छ ।

केहि वर्ष अगाडि राजस्व अनुसन्धान विभागले काठमाडौं गोङ्गबुस्थित रेमिटेन्स कम्पनी ‘रिलायन्स सब रेमिट’ ले विदेशबाट गैरकानूनी रूपमा रकम भित्र्याउने हुण्डी कारोबार गरेको पाएको थियो । विभागले सञ्चालक गोविन्द सुब्बालाई २२ जेठमा पक्राउ गर्‍यो । विभागको अनुसन्धानबाट सो कम्पनीले हुण्डीमार्फत भित्रिएको रु. ३ करोड ६६ लाख आन्तरिक रेमिटेन्स च्यानलबाट सम्बन्धित व्यक्तिलाई पठाएको तथ्य फेला परेको थियो । विभागले रु. ३ करोड ६६ लाख बिगो दाबीसहित सुब्बा विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

जसमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका एजेन्ट परेका छन् । तर उक्त कम्पनीले अरु कम्पनीलाई अघि सारेर यो रहस्य लुकाउँदै आएको छ ।

विभागले जनकपुरका जानकी इम्पेक्स मनी ट्रान्सफर र विभास मनी ट्रान्सफरले विभिन्न मुलुकबाट हुण्डीमार्फत भित्र्याइएको रकम आन्तरिक रेमिटेन्स च्यानल प्रयोग गरी पठाएको अभियोगमा दुवै कम्पनीका पाँच सञ्चालक विरुद्ध धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

२५ लाख नगदसहित पक्राउ परेका उनीहरू विरुद्ध विभागले रु १३ करोड ७७ लाख बिगो दाबी गरेको थियो । मुद्दा चलाइएका पाँच जना सञ्चालकहरू विन्देश्वर रावत, महादेव रावत, विष्णुदेव रावत, अरुण दास र रोशनकुमार महरामध्ये वैदेशिक रोजगारीमा मलेशिया गएर फर्केका विन्देश्वरले विभागसँगको बयानमा मलेशियामा बस्दा बनाएको ‘च्यानल’ प्रयोग गरी हुण्डीबाट रकम भित्र्याएको स्वीकारेका थिए । हुण्डीमार्फत स्वदेशमा रकम त भित्रिएको छ तर त्यसको हिस्सा देशको ढुकुटीमा नगई दलालको हातमा मात्रै सिमित भएको छ सँगै विदेशमा बगाएको पसिनाको मूल्यसमेत जोखिममा पर्ने गरेको छ ।

राष्ट्र बैंकले गरेको अनौपचारिक अध्ययनअनुसार नेपालमा भित्रिने रेमिटेन्सको करीब ३० प्रतिशत रकम हुण्डीलगायतका गैरकानूनी माध्यमबाट आउने गर्छ । यो रकम वार्षिक करिव ४ खर्ब हो । चालु आर्थिक वर्षको पहिलो (साउन) महिनामा रेमिटेन्सको वृद्धिदर २० प्रतिशत पुग्दा पनि विदेशी मुद्रा (डलर) सञ्चितिमा सुधार नहुनुको प्रमुख कारण हुण्डीलगायतका गैरकानूनी च्यानलबाट रेमिटेन्स भित्रिनुलाई मानिएको छ ।

पछिल्लो समय अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, अमेरिका, बेलायतलगायतका देशमा मात्र नभई खाडी मुलुकहरूमा समेत हुण्डी कारोबारलाई आन्तरिक रेमिटेन्स च्यानलसँग जोड्ने क्रम बढेको छ । हुण्डी कारोबारमा रेमिट कम्पनी मात्र होइन, ट्राभल एजेन्सीहरू समेत संलग्न देखिन्छन् ।

राजस्व अनुसन्धान विभागले  जेबु टुर्स एण्ड ट्राभलले हुण्डी कारोबार गरिरहेको दाबीसहित १२ भदौ २०७४ मा रु.४ अर्ब १४ करोड बिगो दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

के भन्छ राष्ट्रबैंक ?

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा: गुणाकर भट्टले बैंकिङ प्रणालीबाटै रेमिट्यान्स पठाउन आग्रह गर्दै भन्छन , ‘बैंकिङ प्रणालीबाट रेमिट्यान्स पठाउने विषय सेवाग्राहीकै हितको कुरा हो । यो सुरक्षित र भरपर्दो हुन्छ । राष्ट्रिय अर्थतन्त्रलाई औपचारिक बनाउने विषयमा पनि यसले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । साथै अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रणमा राख्नका लागि मद्दत गर्दछ ।’

उनी बैंकिङ प्रणालीबाट रेमिट्यान्स पठाउँदा विभिन्न परिसूचकहरुमा महत्वपूर्ण भूमिका खेलेको बताउछन् । उनी भन्छन, ‘विदेशी विनिमय सञ्चितीमा पनि सहयोग पुर्याउँछ । घर परिवारले सहजै प्राप्त गर्न सक्नु्हुन्छ । रेमिट्यान्स बैंकमा रहँदासम्म घर परिवारलाई व्याज आर्जन गर्ने अवसर समेत मिल्छ ।’

सुरक्षित र जोखिमरहित रुपमा औपचचारिक अर्थतन्त्रलाई प्रोत्साहित गर्न, विकास निर्माणका पूर्वाधार र राष्ट्रिय अर्थतन्त्रको विदेशी विनिमय सञ्चीतिको आवश्यकता पुरा गर्नका लागि पनि बैंकिङ प्रणालीबाट रेमिट्यान्स पठाउनुपर्ने उनी बताउछन् । उनी भन्छन्, ‘यो व्यक्ति, राष्ट्र र समग्र अर्थतन्त्रको हितमा छ ।’

हुण्डी के हो ?

गैरकानुनी ढंगबाट एक ठाउँबाट अर्को ठाउँमा वा एक देशवाट अर्को देशमा अनाधिकृत प्रक्रियाद्धारा रकम पठाउने माध्यमलाई हुण्डी भनिन्छ । यसमा मोबाइल नम्बर, नोट नम्बर, कुनै निश्चित कोडलाई आधार मानेर रकमको रकमान्तर गर्ने गरिन्छ । यो रकमान्तरको काम गराएबापत हुण्डीको काम गराउने ब्यक्तिले केही कमिशन लिने गर्दछ । उदाहरणको लागि, कुनै मान्छे वा ब्यापारीले नेपालको कुनै ठाउँ विदेशको कुनै ठाउँबाट रकम पठाउनुपर्यो भने सो ब्यक्तिले नेपालमा रहेको हुण्डीको काम गराउने ब्यक्तिनिर गएर पैसा बुझाएर एउटा गोप्य कोड प्राप्त गर्ने गर्दछ ।

त्यो रकम पठाउने ब्यक्तिले सो कोड रकम पाउने ब्यापारीलाई जानकारी गराईदिने गर्दछ । हुण्डी ब्यापारीले सो कोडको अधारमा त्यो रकम पाउने ब्यक्तिलाई पहिचान गरी रकमको भुक्तानी गर्ने गर्दछ । यो बीचमा दुवै हुण्डीको कारोबार गर्ने ब्यापारीहरु बीच सो कोडको गोप्य रुपमा आदानप्रदान भइसकेको हुन्छ । हाल आएर हुन्डीको विकल्पको रुपमा सुन तस्करी र गैरकानुनी विप्रेषन पनि प्रयोगमा आइरहेको छ ।

कसरी हुन्छ हुन्डी कारोबार ?

रेमिट्यान्स औपचारिक र अनौपचारिक माध्यमबाट आउछ । अनौपचारिक माध्यमबाट भित्रिने रेमिट्यान्स हुन्डी हो । हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध तरिका हो ।

दुवै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार हुने गरेको छ । नेपालबाट भारतमा पैसा पठाउन हुन्डीको भारतमा रहेको एजेन्टले नेपालको एजेन्टलाई खबर गर्छ । नेपालको एजेन्टलाई पैसा दिएपछि भारतको एजेन्टले आफ्नो व्यक्तिलाई पैसा उपलब्ध गराउँछ । यसबापत उनीहरूले केही प्रतिशत कमिशन लिने गर्छन् ।

विदेशबाट पैसा पठाउँदा बैंकिङ च्यानलबाट पठायो भने त्यो रेमिट्यान्समा गनिन्छ भने बैंकिङ च्यानलबाट नभई अन्य दलालहरुमार्फत सिधै पैसा पठाउनुलाई हुन्डी कारोबार भनिन्छ । कार्यथलोमै लिन आउने र घरमै पुर्‍याइदिने त्यसमाथि धेरै शुल्क पनि नलाग्ने भएपछि हुन्डीमा आकर्षित हुने बढेका हुन् ।

छुटाउनु भयो की ?

रेमिट्यान्स कम्पनीमा फस्टाउदै हुण्डी कारोबार

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *