मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ८ बाट लौरो चिन्ह लिएर उम्मेदवार बनेका सुमन सायमीको उमेदवारी दर्ताकै दिन साँढे सात लाख रुपैया चट भएको छ ।
बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेका सायमीले समयमै खर्च विवरण नबुझाए बापत निर्वाचन आयोगले तोके बमोजिमको जरिवाना रकम साँढे ७ लाख बुझाएर मात्रै प्रतिनिधीसभाको उमेदवार बन्न पाएका छन् ।
निर्वाचन आयोगले एकै दिन ३ करोड रुपैया भन्दा बढि यस्तै खालको जरिवाना रकमबाट उठाएको जानकारी दिएको छ । जरिवाना रकम महंगो भएको भन्दै पुनरावलोकनका लागि आवाज उठिरहे पनि निर्णय नभइ सकेका कारण सायमीले उक्त रकम तिर्न बाध्य भएका हुन् ।
काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेका सायमीले आयोगलाई खर्चको विवरण नबुझाएवापत साढे ७ लाख रुपैयाँ बुझाउनुपरेको हो । विगतका चुनावमा भाग लिएर खर्चको विवरण नबुझाउनेहरुको नाम आयोगले हरेक निर्वाचन कार्यालयमा रेकर्ड राखेको थियो । भारी रकम जरिवाना तोकिएकाले देशभरिबाट धेरै उम्मेदवारहरुले राजकुमार बजगाईँले जस्तै मनोनयन दर्ता गर्न पाएनन् ।
स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेदवार बनेर सायमीले राम्रो मत ल्याएका थिए । स्थानीय तहको मत परिणामबाट हौसिएका उनी प्रतिनिधीसभाको निर्वाचनमा लौरो चिन्ह लिएर मैदानमा उत्रिएका छन् । बालेनले जितेको चिन्ह लिएरनै उनी मैदानमा उत्रिएका छन् ।
सायमीको प्रतिष्पर्धा गठबन्धनको तर्फबाट उमेदवार बनेका नेकपा एसका नेता जीवनराम श्रेष्ठ लगायतसँग हुँदै छ । सायमीलाई यस पटक सिरियस उमेदवारका रुपमा हेरिएको छ । उनले आफूलाई स्वतन्त्र उम्मेदवार भनेर प्रचारित गरे पनि हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरौ लिएर उनी चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।







