हिरोको पहिलो इलेक्ट्रिक स्कुटर सार्वजनिक

पछिल्लो समय विद्युतीय सवारीसाधनको क्रेज दिनप्रतिदिन बढ्दै गएको छ। यस्तो अवस्थामा सवारीसाधन निर्माता कम्पनीहरुले पनि बजारमा एकपछि अर्को विद्युतीय सवारीसाधन ल्याइरहेका छन्।

हिरो मोटोकर्पले पनि विद्युतीय सवारीसाधनको क्षेत्रमा दमदार इन्ट्री गरेको छ। कम्पनीले शुक्रबार आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ‘भिडा भी वान’ सार्वजनिक गरेको हो।

हिरो मोटोकर्पले आफ्नो ई–स्कुटर भिडा भी वान दुई भेरियन्टमा लन्च गरेको छ। जसमा पहिलो भिडा भी वान प्रो र दोस्रो भिडा भी वान प्लस छन्।

हिरो मोटरकर्पका एमडी र सीईओ पवन मुंजालले भने, ‘यो एउटा वाचा र प्रतिबद्धता हो, जुन हामीले यो वर्षको मार्च महिनामा सम्पूर्ण विश्वसामु गरेका थियौँ।’

हिरो भिडा भी वानमा स्व्याप गर्न सकिने ब्याट्री प्रविधि दिइएको छ। हिरो मोटोकर्पले यसलाई बनाउन गोगोरो र एथर इनर्जीसँग साझेदारी गरेको छ। यसका साथै कम्पनीले ग्राहकलाई बलियो ई–स्कुटर दिने वाचा गरेको छ।

हिरो भिडा भी वान प्लसको मूल्य भारु १ लाख ४५ हजार (एक्स–शोरुम) र भिडा भी वान प्रोको मूल्य भारु १ लाख ५९ हजार (एक्स–शोरुम) तोकिएको छ।

हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटरमा उत्कृष्ट रेन्ज प्रदान गर्दैछ। भिडा भी वान प्रो टप स्पेक भेरियन्ट हो र सिंगल चार्जमा १६५ किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ। यसले मात्र ३.२ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रतिघन्टाको गति समात्न सक्षम छ।

अर्कोतर्फ भिडा भी वान प्लसलाई एकपटक चार्जमा १४३ किलोमिटरको रेन्जका साथ प्रस्तुत गरिएको छ। जसले ३.४ सेकेन्डमा ० देखि ४० किमी प्रतिघन्टाको गति लिन सक्छ।

हिरो इलेक्ट्रिक स्कुटरको दुवै भेरियन्टको टप स्पिड ८० किमी प्रतिघन्टा रहेको बताइएको छ। भिडा भी वान इको, राइड र स्पोर्टजस्ता सवारी मोडहरुसँग आउँछ। यसका साथै यसमा नेभिगेसन, चार्जिङ स्लट बुकिङ र स्मार्टफोन कनेक्टिभिटीको सुविधा पनि दिइएको छ। यसमा दुई–तर्फी थ्रोटल सक्षम रिभर्स मोड पनि छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *