असोज महिनाको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)बाट प्राप्त तथ्यांकअनुसार असोज ७ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप २६ अर्ब रुपैयाँले बढेको हो ।
योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ। गत भदौ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको थियो।
यसैगरी यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेको छ। असोज ७ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। गत भदौ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेको थियो।
दशैं, तिहार, छठ लगायतका चाडपर्वहरु नजिकँदै गर्दा विदेशमा रहेका नेपालीहरुले पैसा पठाउने क्रम बढेपछि बैंकहरुको निक्षेपमा सुधार आएको हो ।







