नेपाली क्रिकेटको विवाद के हो ?


नेपाल क्रिकेट सङ्घ क्यानको बुधवार बसेको आकस्मिक बैठकले ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीलाई कप्तान र उपकप्तानको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ । अन्य दुई खेलाडी सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि कारबाही गर्दै ती सबै खेलाडीलाई आगामी छ महिनाका लागि ’सेन्ट्रल कन्ट्र्याक्ट’ अथवा तलब सुविधा नदिने निर्णय गरेको छ ।

सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीको नयाँ कप्तान नियुक्त गरिएको छ । क्यानको यो कदमले खेलाडी र क्यानबीच पछिल्लो समय देखिँदै आएको विवादलाई फेरि चर्काएको छ । क्यानको भर्चूअल बैठकमै छजना केन्द्रीय सदस्यले उक्त निर्णयविरुद्ध ‘नोट अफ डिसेन्ट’ प्रकट गरेको बताइएको छ ।

राष्ट्रिय टोलीका केही सदस्यहरूले क्यानको निर्णयको साङ्केतिक रूपमा विरोध जनाएका छन् । जसमा विनोद भण्डारी, करण केसी, कुशल भुर्तेल, अविनाश बोहरा र रोहित पौडेलले क्यानले जारी गरेको विज्ञप्तिमा “आई एम डन” (मलाई पनि पुग्यो) लेख्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । सामाजिक सञ्जालमा सो निर्णयको समर्थन र विरोधमा लामै बहस भइरहेको छ । धेरैले क्यानको निर्णय गलत भएको भन्दै त्यसको विरोध गरेका छन् ।

भएको के थियो ?

विवादको थालनी राष्ट्रिय टोलीका खेलाडीहरूको वर्गीकरणबाट भएको हो जुन सही नभएको भन्दै मल्ल र अन्य खेलाडीले विरोध जनाएका थिए । पहिलो गल्ती क्यानबाट भएको धारणा केही विश्लेषकको छ ।

खेलाडीहरूको वर्गीकरण गरेर क्यानले त्यसलाई सार्वजनिक गर्नुपर्नेमा खेलाडीहरूलाई एक्लाएक्लै बोलाउँदै सम्झौतामा हस्ताक्षर गरायो । त्यतिबेला वर्गीकरण देखेकाले त्यसमा चित्त बुझाएनन्। तीमध्ये चार जनाले सार्वजनिक रूपमा त्यसप्रति असन्तुष्टि प्रकट गरे । कतिपय खेलाडीहरूले अझै सम्झौतामा हस्ताक्षर गरेका छैनन् । क्यान अधिकारीहरूले सम्झौताभित्र रहेका खेलाडीले सङ्घको कुरा सार्वजनिक गर्दा त्यो खेलाडी र क्यानकै लागि अनुपयुक्त भएको माने । चार खेलाडीलाई सोधिएको स्पष्टीकरणको संयुक्त उत्तरमा उनीहरूले क्यानविरुद्ध ११ बुँदे मागपत्र पेस गरेपछि विषयले थप चर्को रूप लियो ।

दुई पटक सोधिएको स्पष्टीकरणमा खेलाडीहरू विरोध मात्र जनाएको भन्दै क्यानले कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा पाँचसदस्यीय छानबिन समिति गठन ग¥यो । त्यही समितिले बुझाएको प्रतिवेदनको आधारमा भन्दै बैठकले खेलाडीहरूविरुद्ध अनुशासनको कारबाही गरेको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्द भन्छन्, “अनुशासन खेलाडीको सबैभन्दा ठूलो सम्पत्ति हो । त्यसबाट विचलित हुन थाल्यो भने प्रदर्शन नै प्रभावित हुन्छ । यो विषयमा खेलाडीहरू स्पष्ट हुन जरुरी छ ।” कारबाहीबाट क्यानले दुई कुरा स्पष्ट पार्न खोजेको देखिन्छः पहिलो, सङ्घभन्दा ठूला खेलाडी होइनन् र दोस्रो, खेलाडीहरू आफ्नो सीमाभित्र बस्नुपर्छ ।

वर्गीकरण विवाद

राजीनामा दिइसकेका उपाध्यक्ष राजुबाबु श्रेष्ठको समितिले खेलाडीको वर्गीकरण गरेको थियो । सन् २०२१ को एप्रिलदेखि डिसेम्बरसम्मको लागि गरिएको वर्गीकरणमा ‘ए’ श्रेणीमा सोमपाल कामी छैनन् भने रोहित पौडेल कुनै पनि श्रेणीमा परेका छैनन् । त्योबाहेक गुलशन झा पनि श्रेणीभित्र अटाउनुपर्ने खेलाडीहरूको माग छ । साथै वर्गीकरण गर्दा खेलाडीहरूको राय नलिएकोमा पनि उनीहरू खुसी छैनन् ।

तलबसँगै वर्गीकरणमा

वर्गीकरणमा मासिक ५०,००० रुपैयाँ तलब पाउने ए श्रेणीमा परेका खेलाडीहरू पारस खड्का, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र करण केसी हुन् । त्यस्तै मासिक ४०,००० रुपैयाँ तलब पाउने बी श्रेणीमा शरद भेषावकर, विनोद भण्डारी, सोमपाल कामी, कुशल मल्ल, अविनाश बोहरा र सुशन भारी छन् ।

मासिक रु ३०,००० तलब पाउने सी श्रेणीमा कुशल भुर्तेल, आरिफ शेख, कमलसिंह ऐरी, आशिफ शेख, सन्दीप जोरा, पवन सर्राफ र शाहब अलाम छन् । नेपाली खेलकुदमा राष्ट्रिय खेलाडीहरूले पाउने मासिक तलबमा यो सबैभन्दा राम्रो रकम हो ।

अब के हुनसक्छ ?

सामान्यता सङ्घले गरेको कारबाही भोग्नुको विकल्प खेलाडीहरूसँग छैन । त्यसको अर्थ अर्को साताबाट पोखरामा हुने भनिएको राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी भएमा यो अध्याय समाप्त हुनेछ ।

त्यहाँ फेरि नेपाली टोली सम्हाल्न आएका प्रशिक्षक पुबुदु दशानायकेले सन् २०२२ मा हुने टी–२० विश्वकप छनोटका लागि प्रशिक्षण थाल्नेछन् । तर खेलाडी र क्यानको सम्बन्ध राम्रो हुन नसकेको इतिहास र आफ्नो माग पूरा गर्न क्यानसँग बारम्बार लड्नुपरेका कारण खेलाडी र क्यानबीच फेरि विवाद लम्बिन सक्ने आकलन पनि कतिपयले गरिरहेका छन् । यद्यपि यो घटनाले नेपाली क्रिकेटको धेरै पाटोमा भने असर पर्ने देखिन्छ ।

अनि अर्को प्रभाव पुस महिनाको दोस्रो साता धनगढीमा हुन लागेको क्यानको साधारण सभामा पर्न सक्नेछ । उक्त सभामा रिक्त रहेको दुई पद उपाध्यक्ष र सचिवको निर्वाचन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *