खेलाडीको हक हितका लागि काम गर्ने उदेश्यले नेपाल ओरियन्टियरिङ फेडेरेशन र नेपाल स्पोर्टस रिसर्च एण्ड प्रमोशन फाउन्डेशन विच एक सहमती भएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा फाउण्डेसनका अध्यक्ष सामाज्य विक्रम पाण्डे र ओरियन्टियरिङ फेडेरेशनका महासचिव राधेश्याम दाहालले सो विषयमा तयार पारिएको एक सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।
सहमती अनुसार फाउण्डेशनले नेपालमा रहेका ओरियन्टियरिङ खेलाडीको वृति विकासमा आवश्यक सहयोग गर्ने छ । खेलाडीहरुलाई आवश्यक पर्ने वैदेशिक प्रशिक्षण र अन्य खालका अनुसन्धान र खेलाडीको क्षमता अभिवृद्धी गर्ने काममा फाउण्डेशनले सहयोग गर्ने छ । यि दुई संस्थाले नेपालमा खेलको विकासका लागी आवश्यक पर्ने अन्य प्राविधिक विषयमा पनि काम गर्ने बताइएको छ ।
ओरियन्टियरिङ फेडेरेशनले पनि फाउण्डेसनको प्रचार प्रसारमा सहयोग गर्ने बताइएको छ । स्थानिय स्तरमा गर्न सकिने सहयोगका लागि ओरियन्टियरिङ फेडेरेशन सवै रुपमा तयार रहेको ओरियन्टियरिङका महासचिव दाहालले सो अवसरमा बताए । कार्यक्रममा बोल्दै फाउण्डेसनका अध्यक्ष पाण्डेले नेपाली खेलाडीहरुले खेलकुदका विषयमा विदेशमा अध्ययन गर्न चाहेमा पनि आफुहरुले थप सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
सो अवसरमा फाउण्डेसनका महासचिव दिपेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसकी केन्द्रिय सदस्य लक्ष्मी खतिवडा, ओरियन्टियरिङ फेडेरेशनका केन्द्रिय सदस्य निरज निरौला, प्रतिनिधिहरु रामचन्द्र श्रेष्ठ, खेलाडी श्रृजना वाग्ले तथा प्राविधिक सहयोगी दिपक लामाको उपस्थिति रहेको थियो । फाउण्डेसनले नेपालमा खेलकुदको विकासमा काम गर्न चाहने अन्य खेल संघहरु सँग पनि आफुहरु सहकार्य गर्न तयार रहेको जनाएको छ ।







