दशैँका लागि सबै वाणिज्य बैंकबाट नयाँ नोट आजदेखि साट्न पाइने

आज असोज २ गतेबाट सबै वाणिज्य बैंकबाट दशैँको लागि नयाँ नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले यस अघि नै सबै वाणिज्य बैंकलाई नयाँ नोट साट्नको ब्यबस्था मिलाउन निर्देशन दिईसकेको छ ।

राष्ट्र बैंकले  सर्वसाधारणलाई नयाँ नोट सुकिलो नोट साट्नका लागि काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला भित्रका कम्तीमा ५ वटा शाखा कार्यालयहरु तोकी आफ्नो वेबसाइट मार्फत् सूचना दिन वाणिज्य बैंकहरुलाई निर्देशन दिईसकेको छ । त्यस्तो सूचनामा नयाँ नोट सुकिलो नोट सटही गर्ने समयावधि र संख्या समेत उल्लेख गर्न राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकले सर्वसाधारणलाई रु. ५, रु.१०, रु.२०, रु.५० र रु.१०० दरको प्रति व्यक्ति बढीमा एक/एक प्याकेटका दरले जम्मा रु १८,५०० सम्म सटही सुविधा उपलब्ध गराउन सकिने जनाएको छ।  नोट सटही कार्यको अनुगमन गरिने व्यवस्था मिलाइएको समेत राष्ट्र बैंकले प्रष्ट पारेको छ।

राष्ट्र बैंकले वडादशैंको अवसरमा सर्वसाधारणबाट साना दरका नयाँ नोटहरुको माग अत्याधिक हुने गरेको विगतको अनुभवलाई मध्यनजर गरी वडा दशैं २०७९ को अवसरमा सर्वसाधारणलाई नयाँ नोट सटही गर्न सहज होस् भनी यस वर्ष सम्पूर्ण वाणिज्य बैंकहरुलाई यस बैंकबाट नयाँ नोट उपलब्ध गराई सकेको छ।

राष्ट्र बैंकले यस पटक १० देखि १३ अर्ब नयाँ नोट सटही हुने अनुमान गरेको छ । गत वर्ष राष्ट्र बैंकले ७ अर्ब नयाँ नोट सटही गरेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *