ब्याजदर बढ्न सक्ने त्रासले सेयर बजारमा पहिरो, कारोबार रकम भने २ अर्ब नाघ्यो

सेयर बजारमा ब्याजदर विगत ६ महिनादेखि स्थिर रहँदै ब्याजदर घटबढ हुने संकेतसँगै सेयर बजारमा उच्च अंकको गिरावट आएको छ।

अब बैंकहरुलाई राष्ट्र बैंकको नियमभित्र रहेर आफूखुसी ब्याजदर बढाउन वा घटाउन सक्ने छुट नेपाल बैंकर्स एसोसिएसन (एनबीएल)ले दिएको छ। योसँगै असोज महिनामा अब बैंकहरुले आआफ्नो हिसाबले ब्याजदर तय गर्ने भएका छन्। कतिपयले योसँगै ब्याजदर बढ्ने आकलन गरेका छन्। यसैको प्रभाव बिहीबारको सेयर बजारमा देखिएको छ ।

आज सेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ । यसअघि निरन्तर घटिरहेको बजार मंगलबार र बुधबार भने बढेको थियो । गुड न्यूजको पर्खाईमा रहेका लगानीकर्ताको मनोबलमा ब्याजदर बढ्ने हल्लाले प्रभाव पारेको छ ।

यस दिन नेप्से परिसूचक ५७ अंकले घटेर १९२४.४८ बिन्दुमा झरेको छ ।

खरिदबिक्री रकम भने वृद्धि हुँदै २ अर्ब १२ करोड ५६ लाख ५५ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यस दिन २३२ कम्पनीको ६९ लाख ४० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आज सबै समूहका सूचकमा गिरावट आएको छ ।

२१ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा लक्ष्मी बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिडी पावर र अपि पावर परेका छन् ।

आज २ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १८६ कम्पनीको सेयरमूल्य घटेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *