दशैँका लागि भोलिदेखि नयाँ नोट साट्न सकिने

दशैँ, तिहारलगायत चाडपर्वका लागि भोलि (भदौ २९ गते) देखि नयाँ नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भदौ २६ गतेदेखि नै नयाँ नोट पठाईसकेको छ ।

राष्ट्र बैंकले सर्वसाधारणलाई काठमाडौं उपत्यकामा २९ भदौ र उपत्यकाबाहिर २ असोजदेखि नयाँ नोट साट्न सक्ने व्यवस्था गरेको हो ।

सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही गर्न सक्नेछन् । जसमा ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक/एक वटा बन्डल साट्न सक्नेछन्।

नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयका साथै बैंक तथा वित्तीय संस्थाहरुका विभिन्न शाखा कार्यालयमा गएर पनि नयाँ नोट साट्न सकिन्छ ।

राष्ट्र बैंकले बैंकहरुलाई नोट सटही सुविधा प्रदान गर्ने शाखा हेरर ५ देखि १० करोडसम्म प्रदान गरेको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिए ।

राष्ट्र बैंकसँग साना दरका १० अर्ब भन्दा बढी नयाँ नोट मौज्दात रहेको र केही छपाइ भएर आउने क्रममा रहेकोले चाडपर्वमा नयाँ नोट सटही सुविधा उपलब्ध गराउन समस्या नरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *