मुस्ताङमा लगातार हिमपात, तापक्रम माइनस १५ डिग्री सेल्सियस

हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्रमा दुई दिन अघिदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा आशिंक हिमपात भएको छ भने मुस्ताङको तल्लो क्षेत्रमा वर्षा भएको कारण चिसोले जनजीवन प्रभावित भएको हो ।

मुस्ताङमा हिउँद याम सुरु भएपछिको पहिलो हिमपात भएको छ । उपल्लो मुस्ताङमा आंशिक हिमपात भएसँगै उच्च लेकका डाँडाकाँडा सेताम्मे भएका छन् । तर बाक्लो हिमपात नभएकाले बस्ती क्षेत्रमा भने खासै हिउँ नजमेको लोमान्थाङका स्थानीय आङ्गेल गुरुङले बताए ।

उनका अनुसार उपल्लो मुस्ताङमा तापक्रम घटेर माईनस १५ डिग्री सेल्सियस पुगेको छ । चिसो अप्रत्यासित बढेकाले शाखा नदी, घरका धारा, सेफ्टी ट्यांकी र सिँचाइ कुलोसमेत जमेको छ । उपल्लो मुस्ताङमा हिमपात भएसँगै खर्कमा पालन गरिएका चौरी गाई, भेडा च्यांग्रासमेत बस्ती नजिक झारिएको छ । चिसो बढेसँगै स्थानीयको दैनिकी समेत प्रभावित बनेको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पर्ने लोमान्थाङ, ठिंगर, सम्जुङ, चुमजुङ, फुवा, छोसेर र कोरला नाका आसपासका क्षेत्रमा हिमपात भएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङ, मराङ, घमी, ढाक्मर, घिलिङ, यारा, घारा, ढिँ र सुर्खाङ लगायतका क्षेत्रमा आशिंक हिमपात भएको लोघेकर दामोदरकुण्ड—३ का वडाध्यक्ष सम्तेन धावा गुरुङले जानकारी दिए ।

उपल्लो मुस्ताङमा हिउँदयाम लागेपछि जाडो छल्न स्थानीय बेसी झर्ने परम्परा छ । गत वर्ष कोरोना कहरले गाउँमै थुनिएका स्थानीयहरू यस पटक भने जाडो छल्न र घुम्ती व्यापारका लागि बेसी झरेका छन् ।

लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ८० प्रतिशत स्थानीय चिसोकै कारण बेसी झरिसकेका छन् । चिसो र हिमपातको मौसम भएकाले सबै विकासे योजनाको काम ठप्प भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेरक दामोदरकुण्ड गापा अन्तर्गतका अधिकांश सामुदायिक गुम्बा, निजी विद्यालय जाडो छल्न मंसिर कार्तिकको पहिलो साता बेसी झरिसकेका छन् । उनीहरूलाई पोखराका बिभिन्न स्थानमा स्थान्तरण गरी पठनपाठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *