बराह सहकारी पीडितहरुद्वारा साम्पाङविरुद्ध नाराबाजी गर्दै सिसा तोडफोड

बराह बचत तथा ऋण सहकारी संस्थाका पीडित सेयर सदस्य तथा वचतकर्ताहरुले धरान उपमहानगरपालिकामा घेराउ गर्दै मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गरेका छन्।  पीडितहरुलाई न्याय दिलाउन ढिलाई गरेको र छानबिन समितिसँगको छलफलमा बस्ने क्रममा आइतबार मेयर साम्पाङले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध घेराउ र नाराबाजी भएको हो ।

छलफल औपचारिकरुपमा सुरुवात हुनुअघि मेयर साम्पाङले मलाई सोधेर पैसा सहकारीमा राखेको हो र ? भन्ने गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको पीडितहरुको दाबी छ । मेयर साम्पाङले छलफलमा पीडितहरुकोतर्फबाट ५ जना मात्र प्रतिनिधिमुलुकरुपमा बस्न भन्दै बाहिरिएका थिए । त्यसलगत्तै पीडितहरु छलफलमा नबस्ने भन्दै बैठक कक्षबाट बाहिरिएर आन्दोलन चर्काएका थिए । संघर्ष समितिका प्रवक्ता प्रदिप बास्तोलाका अनुसार मेयरले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको कारण पीडितहरु आक्रोशित भएका हुन् ।

उनले भने,‘हामी छलफलको लागि गएका थियौं । मेयर साबले ५ जना मात्र बस्नुस् भन्नु भयो। त्यसैक्रममा उहाँले मलाई सोधेर पैसा राखेको हो र ? भन्ने गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएपछि यो अवस्था भएको हो ।’ बराह पीडितहरुले प्रहरीको घेरासमेत तोडेर मेयरकै कार्यालयसम्म पुगेका थिए । त्यहाँ आक्रोशित भिडले मेयरको कार्यालय बाहिरको सिसासमेत फुटाइदिए । घटना अप्रिय हुन नदिन जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा आफै पनि धरान आएका थिए ।

बराह पीडितहरुले मेयरले सम्बोधन गर्नुपर्ने र माफी मागेर बोलेको शब्द फिर्ता लिनुपर्ने माग राखेका थिए । साढे ६ बजेसम्म पीडितहरु मेयर साम्पाङविरुद्ध नाराबाजी गर्दै उपमहानगर परिसरमा बसेपनि उनले सम्बोधन नगरेपछि बराह पीडितहरु सोमबार ११ बजे घेराउ गर्न आउने भन्दै फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *