के मानव मूत्र रासायनिक मलको विकल्प बन्न सक्ला ?

के मान्छेको पिसाब खेतमा मलका रूपमा प्रयोग गर्न सकिन्छ ? हो, यसै सम्बन्धी अहिले फ्रान्समा वैज्ञानिक ट्रायल परीक्षण सुरु गरिएको छ ।

रासायनिक मलको तुलनामा यो मानव मूत्र, धेरै सस्तो, दिगो र प्राकृतिक विकल्प बन्न सक्ने विश्वाससहित फ्रान्सेली वैज्ञानिकहरूले यसको परीक्षण गरिरहेका छन् ।

यस सम्बन्धी अल्जजीराले पोस्ट गरेको भिडियोमा किसानहरूले मानव मूत्र खेतका अन्नबालीमा छर्किरहेको देख्न सकिन्छ । कृषि कक्षकी लुइस बेरोन भन्छिन्, “यसमा विभिन्न ठाउँका शौचालयबाट एउटा कम्पनीले पिसाब संकलन गरी ल्याउँछ र त्यसैलाई प्रयोग गरिन्छ ।”

अवश्य पनि रासायनिक मलको बढ्दो मूल्यलाई हेरेर सहरी क्षेत्रबाट आउने यस किसिमको मल सबैका लागि चासोको विषय बन्ने कृषि कक्षका अर्का सदस्य क्रिस्टोफी डिओनले बताए ।

मानवीय मलमूत्रको खेतमा प्रयोग सम्बन्धी प्रारम्भिक परीक्षणमा प्रभावशाली नतिजा पनि देखिसकिएको छ । उक्त खेतीबाट उत्पादित खाद्यान्नको मात्रा रासायनिक मल प्रयोग गर्दा बराबर रहेको र अत्यन्तै गुणस्तरीय समेत रहेको बताइएको छ ।

यस परीक्षणका लागि पिसाब संकलन गरिँदै आएको एक बारका मालिक फेबियन गेन्डोसीका अनुसार यस सम्बन्धी मानिसबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ । उनी भन्छन्, “पहिले त उनीहरू एकदमै आश्चर्य मान्छन् तरपनि मानिसको धारणा विगतको तुलनामा धेरै फरक भइसकेको छ ।”

हाल विश्वव्यापी रूपमा थुप्रै मुलुकहरू खाद्यान्न र खानेपानीको संकटमा रहेका बेला यी वैज्ञानिकहरूले अबको भविष्य यसैमा रहेको विश्वास व्यक्त गरिरहेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *