सिद्धार्थ बैंक लिमिटेड बैंकिङ्ग क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । शुक्रबार काठमाडौंको एभरेस्ट होटलमा आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले आर्थिक वर्ष २०२०/२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो ।
उक्त कार्यक्रममा महालेखा नियन्त्रक सुमनराज अर्याल र आईक्यानका अध्यक्ष युद्ध राज ओलीद्वारा संयुक्त रुपमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेललाई अवार्ड हस्तान्तरण गर्नुभएको थियो । यस अवार्डले बैंकलाई आगामी दिनहरुमा अझ बढी परिस्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको छ । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले South Asian Federation of Accountants (SAFA) द्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११७ शाखारहित बैंकिङ्ग सेवा र २,००० भन्दा बढी पिओएस् मेसिन मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिंदै सुरक्षित तरिकाले अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न बैंकिङ्ग सुविधाहरु सरल एवं ग्राहकमैत्री ढङ्गले प्रवाह गर्दै आएको छ ।







