एम अधिकारी प्रकरण : प्रतिनिधि सभामा उठ्यो प्रश्न, गभर्नरमाथि छानबिन माग

प्रतिनिधि सभामा एम अधिकारी अर्थात गभर्नर महाप्रसाद अधिकारीबारे छानविन गर्न माग उठेको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले नेकपा एमालेको अन्तरपार्टी निर्देशनमा एम अधिकारी अर्थ तथा योजना विभागको सदस्य रहेको भन्दै उक्त व्यक्ति गभर्नर महाप्रसाद अधिकारी नै भनेर प्रश्न उठेकाले उनीबारे छानबिन गरी पुष्टि भए कारबाही गर्न माग गरेकी हुन् ।

‘देशको अर्थतन्त्र बिग्रँदो अवस्थामा छ भन्ने चर्चा भइरहेको छ । राष्ट्र बैंक जस्तो गरिमामय संस्था सम्हाल्ने प्रमुख व्यक्ति गर्भनर महाप्रसाद अधिकारी कुनै पनि राजनीतिक दलमा आवद्ध हुन नपाउने राष्ट्र बैंक ऐन र कर्मचारी नियमावली विपरित नेकपा एमालेको अन्तरपार्टी निर्देशनमा योजना तथा अर्थ विभागका सदस्य जुन एम अधिकारी (खोटाङ) भनेर नाम आएको छ’, शर्माले भनिन्, ‘ती एम अधिकारी राष्ट्र बैंकका गभर्नर हुन् भन्ने विषयले पनि ठूलै चर्चा पाएको छ ।’

सांसद शर्माले एकातिर अर्थतन्त्र बिग्रँदो छ भनेर आरोप प्रत्यारोप र चर्चा भइरहेको छ भने अर्कोतिर राष्ट्र बैंकको प्रमुख नै कुनै दलमा आवद्ध भएपछि दलीय अनुशासन मान्छ कि सरकारको नियम मान्छ भन्दै प्रश्न गरिन् । उनले प्रचलित कानुन र राष्ट्र बैकको ऐन विपरित भएकाले छानविन गरि कारबाही गरियोस् भनेर संसदमार्फत सरकारसँग माग गरिन् । त्यस्तै शुन्य समयमा अन्जना विशंखे र अमृता थापाले पनि गर्भनर अधिकारीमाथि छानविन गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *