ढुंगाले रूकुमको वडा कार्यालयमा दुईतिर प्वाल बनायो

रूकुम पूर्वको सिस्ने गाउँपालिका–३ मा पहाडबाट खसेको एउटा अजंगको ढुंगाले वडा कार्यालयमा दुईतिर प्वाल पारिदिएको छ।

सोमबार बिहान झिमा सामुदायिक बनको पहाडबाट खसेको ढुंगाले वडा कार्यालयको गेट भत्काएर बैठक कक्षका दुइटा भित्ता पनि फोडेर बाहिर निस्किएको हो।

वडाध्यक्ष हेराम खड्काले सोमबार बिहान पौने पाँच बजेतिर ढुंगा खसेको बताए ।
‘अकल्पनीय घटना भयो। धन्न बिहानको समय भएकाले कार्यालयमा कोही हुनुहुन्थेन,’ खड्काले भने,‘नत्र त ठूलो मानवीय क्षति हुने रहेछ। यत्रो भयंकर ढुंगा कसरी आयो भनेर हामी पनि अचम्ममा परेका छौं।’

वडा कार्यालयनजिकै एकातिर विद्यालय र अर्कातिर बस्ती छ।

‘धन्न ढुंगा घरतिर आएन,’ खड्काले भने। बिहानै आफ्नो कार्यालयमा ढुंगाले क्षति गरेपछि उनले प्रहरी बोलाएर मुचुल्का उठाउन लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *