नबिल बैंकले ‘नबिल ग्रीन विक’ भन्ने नारासहित दिगो बैंकिङ वार्षिकोत्सव मनाएको छ । बैंकले गत २०७८ असार १५ गते शुरु गरेको‘नबिल दिगो बैंकिङ’ कार्यक्रमको सफलताका साथ पहिलो वर्ष पूरा गरेको खुसीयालीमा वार्षिकोत्वस मनाएको हो ।
ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशिलता प्रवर्धन एवम् नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई सघाउने उद्देश्यका साथ बैंकले गत वर्ष २०७८ साल असार १५ गते धान दिवसकै दिन उक्त कार्यक्रमको शुभारम्भ गरेको थियो । कार्यक्रमको एक वर्ष पूरा हुँदैगर्दा नबिल बैंक मात्र नभएर सिङ्गै नेपाली बैंकिङ जगतमा ‘नबिल दिगो बैंकिङ’ एक नवीन पहलको रूपमा स्थापित भएको बैंकको ठहर छ ।
आफ्नो प्रारम्भिक कालबाटै हाइड्रोमा लगानी गर्नेदेखि सहुलियत कर्जा प्रदान गर्नाका साथै सामाजिक वातावरण तथा उत्तरदायित्वका क्षेत्रमा काम गरी दिगो बैंकिङको अभ्यास गर्दै आइरहेको नबिलले हालसम्म नेपालको विभिन्न भू–भागमा तथा वित्तीय क्षेत्र उल्लेखनीय अफलताहरू हात पारेको बैंकले जनाएको छ ।
बैंकले ‘नबिल दिगो बैंकिङ’ अन्तर्गत वित्तीय पहुँच न्यून भएका आम जनतालाई लक्षित गर्दै दुई किसिमका नबिन कर्जाः ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ कार्यक्रम सञ्चालन गरिरहेको छ । आफ्ना १७ दुर्गम शाखाबाट सुरु गरेको यस कर्जा अन्तर्गत २०७९ जेष्ठ मसान्तसम्म कुल ५७१ किसान तथा साना उद्यमीलाई करीब ४१ करोड रुपैयाँ कर्जा उपलब्ध गराएको र ती मध्ये करीब ६ हजार महिलाहरू रहेको बैंकले जनाएको छ ।






