गुणस्तरहीन ‘करेन्ट’ र ‘लाली’ चाउचाउ अझै खुलेआम बिक्री: फितलो अनुगमनले उपभोक्ता स्वास्थ जोखिममा

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन ठहर गरेका ‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ देशका विभिन्न बजारमा अझै खुलेआम बिक्री भइरहेको पाइएको छ। विभागले गरेको प्रयोगशाला परीक्षणमा मापदण्ड विपरीतका तत्व फेला परेपछि यी उत्पादनहरूलाई बजारबाट तत्काल हटाउन निर्देशन दिइएको थियो। विभागको निर्देशनसमेत अटेर गर्दै कम्पनीले यी अखाद्य चाउचाउ अझै खुलेआम बिक्री गरिरहेको छ।

सरकारी निर्देशनपछि पनि उत्पादक कम्पनीहरूले उत्पादन तथा वितरण नरोकेपछि नियमनकारी निकायको नियमन तथा प्रभावकारितामाथि प्रश्न उठ्न थालेका छन्। विभागले आदेश जारी गरे पनि बजारमा प्रभावकारी र नियमित अनुगमन नहुँदा अझै पनि यी गुणस्तरहीन चाउचाउहरू दुर्गम तथा ग्रामीण क्षेत्रका पसलहरूमा खुलेआम बिक्री भइरहेका छन्।

विशेषगरी बालबालिकाले बढी उपभोग गर्ने यस्ता तयारी खानेकुरामा गुणस्तर समस्या देखिनु गम्भीर विषय भएको विज्ञहरूको टिप्पणी छ। खाद्यविज्ञहरू अनुसार नियमित रूपमा यस्ता वस्तुको उपभोगले दीर्घकालीन स्वास्थ्यमा जोखिम बढाउँछ तर चुस्त बजार अनुगमनको हेलचेक्र्याइँले उपभोक्ताको स्वास्थ्य प्रत्यक्ष जोखिममा परेको छ।

विभागको निर्देशनपछि अभिभावकहरूले समेत सामाजिक संजाल लगायतका प्लेटफर्ममार्फत पनि चिन्ता व्यक्त गर्दै बालबालिकाको खानपानमा थप सावधानी अपनाउनुपर्ने अवस्था आएको र यस्ता कम्पनीमाथि कडा विभागीय कारबाही हुनुपर्ने बताएका छन्। बजार अनुगमन र कारबाही प्रक्रिया प्रभावकारी नभएसम्म यस्ता अखाद्य वा शंकास्पद उत्पादन बजारबाट पूर्ण रूपमा हटाउन कठिन हुने उनीहरूको सुझाव छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को नयाँ ऐन अनुसार मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य वस्तु उत्पादन र बिक्री वितरण गर्नेलाई कडा जरिवाना र कैद सजायको स्पष्ट व्यवस्था छ। तर, यसको कार्यान्वयन पक्ष फितलो हुँदा यस्ता उपभोक्ता यिनै आखाद्य बस्तु उपभोग गर्न बाध्य छन्।

यसैबीच, उपभोक्ता अधिकारकर्मीहरूले सम्बन्धित उद्योगलाई केवल चेतावनी दिएर मात्र नपुग्ने भन्दै कडा कारबाही गर्नुपर्ने, उत्पादन रोक्का तथा बजारबाट पूर्ण फिर्ता (रिकल) प्रक्रिया तत्काल लागू गर्नुपर्ने सरकारसँग माग गरेका छन्। जनस्वास्थ्यभन्दा कम्पनीको नाफा ठूलो नहुने भन्दै उनीहरूले नियामक निकायको निरीहता कहिलेसम्म चलिरहने भन्ने प्रश्न गरेका छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोधा फुड्स प्रालिद्वारा उत्पादित २ ब्रान्डलाई तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको थियो । १०० ग्रामवाला करेन्ट नुडल्स र ५० ग्रामको लाली चाउचाउलाई बजारबाट फिर्ता गर्न आदेश गरिएको हो । यी दुवै खाद्य पदार्थमा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरुप एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नपाइएको विभागले जनाएको छ ।

ब्राण्डको मात्र प्रचार नगरी उपभोक्ताको स्वास्थ्यप्रति उत्तरदायी हुनु उत्पादक कम्पनी यशोधा फूड्सको कानुनी र नैतिक कर्तव्य पनि हो। यस्ता ब्याचहरू बजारमा पाइनु कम्पनीको लापरबाही ठहरिन्छ। तर, विभागको स्पष्ट निर्देशनपछि पनि यी चाउचाउ बजारमा छ्यापछ्याप्ती बिक्रवितरण भईरहेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *