काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । महानगरपालिकाको नीति तथा कार्यक्रम आज दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा सार्वजनिक गरिने तयारी भएको जानकारी महानगपालिकाका प्रवक्ता बसन्त आचार्यले दिए । बालेन्द्र साहको योजनामा आउन लागेको नीति तथा कार्यक्रमप्रति धेरैले चासो व्यक्त गरेका छन् ।
प्रवक्ता आचार्यका अनुसार नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई अनुमोदन गर्ने तयारी गरिएको छ । महानगरपालिकाको नीति तथा कार्यक्रम आज प्रस्तुत भएपछि त्यसैको आधारमा असार १० गते बजेट प्रस्तुत हुनेछ ।
स्वतन्त्र भएको कारण राजनीतिक दलका प्रतिनिधिहरुसँग काम गर्न असहज हुन सक्ने लखका कारण महानगरपालिकाका हरेक गतिविधिको प्रत्येक्ष प्रसारण गर्ने घोषणा गरेका साहले महानगरपालिकाको मेयरमा निर्वाचित भएर पद तथा गोपनियताको सपथ खाए पछि जेठ १६ गतेको पहिलो नगरसभाको बैठकको प्रत्येक्ष प्रसारण गरे ।
साहले महानगरको नीति तथा कार्यक्रम भने प्रत्येक्ष प्रसारण नगर्ने बुझिएको छ ।






