काठमाण्डौ । विगत एक दशकदेखि नेपाली कांग्रेस पार्टीमा क्रियाशिल रहेका कञ्चनपुरका युवा समाजसेवी पवन विक्रम सिंहले आसन्न महाधिवेशनमा जिल्ला सदस्यको उम्मेद्वारी घोषणा गरेका छन् । जिल्लामा सफल व्यवसायी र समाजमा सक्रिय समाजसेवीको छवि बनाएका सिंहले संस्थापन समूहमा रहेका वर्तमान जिल्ला सभापति हरि प्रसाद बोहोराको प्यानलबाट जिल्ला सदस्यको उम्मेद्वारी घोषणा गरेका हुन् ।
पार्टीको जिल्ला कार्यसमितिमा नरहेका बेला पनि युवा जमातमा संयोजनकारी भूमिका निर्वाह गर्न सक्ने व्यक्तिका रुपमा आफ्नो परिचय स्थापित गरिसकेका सिंहले युवाहरुलाई राजनीतिमा सक्रिय गराउन र समाजमा सकारात्मक सन्देश प्रवाह गर्न आफूले उम्मेद्वारी दिएको बताएका छन् । आम जनताका समस्या सम्बोधन गर्न र समाजसेवाको भावनालाई ओजन दिन राजनीति प्लेटफर्म हुने बुझेकै कारण आफूले सक्रिय राजनीति गर्न चाहेको सिंहले बताए ।
विभिन्न ठाउँमा शव जलाउन दाउरा उपलब्ध गराउनेदेखि समाजसेवाका अन्य क्षेत्रमा समेत योगदान दिएर लोकप्रियता कमाएका सिंह देश–बिदेशमा परिचित छन् । उनको लोकप्रिय छवि एवम् प्रभावयुक्त व्यक्तित्वका कारण उनको सक्रिय राजनीतिका लागि जिल्लामा भएको उम्मेद्वारीले कञ्चनपुरमा नयाँ तरंग ल्याएको छ । उनले आफूलाई सहयोग गर्नका लागि सबैसामू अपिल समेत गरेका छन् ।