लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध मिना भण्डारी बस्नेतले अभद्र व्यवहारमा जाहेरी दिएकी छन् ।
मंगलबार बिहान पक्राउ परेकी वलीविरुद्ध मिनाले अपराह्न इलाका प्रहरी कार्यालय तुलसीपुरमा वलीविरुद्ध जाहेरी दिएकी हुन् । जाहेरीमा उनले आफूलाई मिनाले बेडरुममै गएर कुटपिट गरेको बताएकी छन् ।
प्रहरीमा दिएको जाहेरीमा मिनाले विमला बिहान ८ः४५ बजे आफ्नो घरमा आएर ढोकामा हानेपछि आफूले गेट खोलिदिएको बताएकी छन् ।
त्यसपछि घरभित्र पसेर एकराजको खोजी गरेपछि आफूले मेरो श्रीमान घर हुनुहुन्नँ भन्दा विमलाले ‘तेरो श्रीमान होइन मेरो श्रीमान हो, तुरुन्तै निकाल’ भन्दै आफूमाथि आक्रमण गरेको उनको भनाइ छ ।
त्यस क्रममा आफ्नो कपाल लुछेर आक्रमण गरेको मिनाले जाहेरीमा उल्लेख गरेकी छन् । जाहेरीमा मिनाले आफ्नो ६ वर्षीया छोरीलाई समेत छुट्याउन आएको बेला हातपात गरेको उल्लेख गरेकी छन् ।
उता, दाङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले स्वास्थ्य राज्यमन्त्री वलीविरुद्धको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने बताएका छन् ।
‘राज्यमन्त्रीज्यूविरुद्धको जाहेरी जिप्रकामा दर्ता गर्छौ’, एसपी काफ्लेले भने, ‘इप्रकाबाट जाहेरी आइपुग्नेबित्तिकै हामी कानूनी प्रक्रिया अगाडि बढाउँछौँ ।’







